धनकुटा: साँगुरीगढी गाउँपालिका वडा नं. ६ मुक्तेन र मझियाका पहिरो पीडित २६ घरपरिवारलाई गोर्खा वेल्फेयर ट्रष्टले खाद्यान्नसहितको उपभोग्य सामाग्री राहत स्वरुप वितरण गरेको छ । 

साँगुुरीगढीको ६ नं. वडा कार्यालयको विशेष पहलमा गोर्खा वेल्फेयर ट्रष्ट नेपालको उत्थानशील खानेपानी, सरसफाइ, स्वच्छता तथा आपत्कालीन पूर्वतयारी कार्यक्रम अन्तर्गत मुक्तेन र मझियाका २६ घरपरिवारलाई राहत वितरण गरिएको हो । वडाध्यक्ष यमप्रकाश (दिपक) को रोहवरमा गोर्खा वेल्फेयर ट्रष्ट धरानले स्थलगत रुपमा पुगेर दाल, चामल, तेल, ग्यास चुल्हा, सावुन जस्ता १९ प्रकारका दैनिक उपभोग्य तथा खाद्यान्न सामाग्री पहिरो पिडित परिवारलाई वितरण छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपाल धरानका एकाउन्टेन एकाउन्टेन सुरेन्द्र मादेनले पहिरोले घरवार विहिन वनेका यहाँका घरपरिवारलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए ।

Rahat-Photo-(1)

मझुवा र मुक्तेन गाउँमा केही वर्षदेखि लगातार पहिरो जाँदा २६ मध्ये ११ घरपरिवार विस्थापित भइसकेको वडाध्यक्ष मगरले बताए । उनीहरु नजिकै रहेको आफन्तको जग्गामा अस्थायी टहरा निर्माण गरेर बसिरहेका छन् । कात्तिक पहिलो साता अविरलरुपमा परेको वर्षाले सो क्षेत्रका अन्य वस्ती समेत जोखिममा छन् । सो क्षेत्रको पहिरोले भेडेटार–रवि–राँके सडकलाई समेत झनै जोखिम बनाएको छ । 

Rahat-Photo-(6)

साँगुरीगढी वडा नं ६ मझुवाका टिकाराम घागा मगरको घरसहित १० रोपनी बारी पहिरोले बगाइदिएपछि अहिले उनी ससुरालीको जग्गामा अस्थायी टहरा वनाइ बसेका छन् । घरवारविहिन भएका परिवारलाई गोर्खा वेल्फेयरले खाद्यान्न सहितको दैनिक उपभोग्य सामाग्री दिँदा खुसी लागेको उनले बताए । ‘कमाई गर्ने जग्गा पहिरोले वगायो । हामी अहिले विचिल्लीमा छौं,’उनले भने,‘पहिरो गएको घरजग्गा हेर्दा मन थामिन्दैन ।’ सरकारले स्थायी रुपमा हुने गरि स्थानान्तरणको व्यवस्था मिलाउन पहल गरिदिन समेत उनले अनुरोध गरे ।