सुनसरी: डाँका मुद्दामा अदालतबाट दोषी ठहर गरेका सुनसरीका एक फरार आरोपीले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र समेत बनाएको खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार डाँका मुद्दामा फरार प्रतिवादी साविक चाँदबेला १ (हाल इनरुवा ७) का अजित मियाँले आफ्नो मृत्यु प्रमाण पत्र बनाएको खुलेको हो । उनलाई डाँका मुद्दामा ६ बर्ष कैद र ९९ हजार जरिवाना तोकिएको थियो । फरार रहदै आएका मियाँलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो । मियाँ लगायतका ३ जनाको समुहले  २०६८ सालमा रामधुनी ५ का जैयस कुमार साहको घरमा डाँका गरेका थिए ।उनीहरुलाई अदालतले २०७५ असार ११ गते जनही ६ वर्ष कैद र ९९ हजार जरिवाना फैसला गरेको थियो । 

सुनसरी प्रहरीका अनुसार मियाँले आफ्नो मृत्यु दर्ता प्रमाण पत्रसमेत बनाएको कारण पक्राउ गर्न ढिलाई भएको हो । उनले २०७४ पुष २७ गते आफ्नो मृत्यु भएको भनि स्थानिय पञ्जिकाधिकारीको कार्यालयवाट मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए । प्रहरीले उनलाई पटक पटक पक्राउ गर्न प्रयास गर्दा उनले अजितको मृत्यु भइसकेको भन्दै आफुलाई अजितको भाई अजिजकोरुपमा चिनाउदै आएका थिए । घटनाका पीडित घटनाका पीडित र अर्का अभियुक्त लुचाई शर्मा खत्वेले उनी नै अजित भएको खनासत गरेपछि मात्र पक्राउ परेका हुन् । 

सुनसरी प्रहरीले अजितसँगै एकैदिन ४२ जना फरार आरोपीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ४२ जनालाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालतमा पेश गरिएको छ । अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भए पनि आरोपीहरु फरार रहदै आएका थिए । प्रहरीले फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न अभियान नै संचालन गरेको थियो । चार महिनामा सुनसरीमा ५६५ जना फरार प्रतिवादीहरु पक्राउ परेको सुनसरी प्रहरीले जनाएको छ । उनीहरुबाट ११९ बर्ष ८ महिना ८ दिन कैद भुक्तान र २६ लाख ७२ हजार ९०६ रुप्रया जरिवाना असुल भएको पनि प्रहरीले जनाएको छ ।