धरान: ‘असमानता हटाऔं, एड्स अन्त्य गरौं’ भन्ने नाराका साथ बुधबार धरानमा पनि ३४ औं विश्व एड्स दिवस मनाईएको छ । 

धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा एचआईभी रोकथाम तथा न्यूनिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका पत्रकार, चिकित्सक र अभियान्तालाई सम्मान गरिएको थियो । पत्रकार विकास चाम्लिङ राई, विपी प्रतिष्ठानका ए.एस.एस. प्रोफेसर डाक्टर श्याम प्रसाद काफ्ले, ए.आर.टी. काउसिलर निशा श्रेष्ठ, अभियान्ता कृष्ण सुन्दर राई र स्व. नरेशलाल श्रेष्ठ (रञ्जना श्रेष्ठ)लाई सम्मान गरिएको हो । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले सम्मान पत्र प्रदान गरेका थिए ।

HIV1

मेयर राईले समाजमा विगतमा भन्दा हाल एचआईभी संक्रमितहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै आएको बताए । संक्रमितलाई हेर्ने दृष्टिकोण नबदलिएसम्म संक्रमितहरु समाजमा खुल्न नसक्ने उनको भनाई थियो । साथै उनले संक्रमितहरुको स्वास्थ्यमा पहुँच पुर्याउनका लागि सबैले सक्रिय भएर लाग्नुपर्नेमा पनि जोडदिए । मेयर राईले स्वस्थ्य जीवन जीउनु हरेक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै एचआईभी संक्रमित भएर बाँचिरहेका व्यक्तिहरुलाई अन्य व्यक्तिहरुले जस्तो सम्मानपूर्वक बाँच्न पाउने वातावारण सृजना गर्नुपर्ने बताए ।

धरान पोजेटिभ समूहका उपाध्यक्ष रोमन राईका अनुसार धरान उपमहानगरपालिकाको आयोजना तथा धरान पोजेटिभ समूहको संयोजनमा कार्यक्रम गरिएको हो । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक रहेको उनको भनाई थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, सामाजिक अभियान्ता लगायत सञ्चारकर्मीहरुको उपस्थिति थियो ।