धरान: धरानको वडा नं ६ पानवारीका एक किसोर छिमेकी जिल्ला मोरङको केराबारी गाउँपालिकामा मृत अवस्थामा भेटिएका छन् । 

धरान ६ पानवारीका १८ बर्षीय अनिष कटवाल शुक्रबार दिउँसो केराबारी ६ स्थित एक घरमा मृत भेटिएका हुन् । प्रहरीले मृतकको शव सर्जमिन मुचुल्का गरेर पोष्टमार्टमको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ भने घटनाबारे गम्भीरतापुर्वक अनुसन्धान शुरु गरिएको केराबारी प्रहरीका सई शेरबहादुर पराजुलीले जानकारी दिए । उनका अनुसार स्थानीय खेम लिम्बूको घरको एक कोठामा कटवाल मृत अवस्थामा भेटिएको थियो । 

मृतक कटवालको हिजो झगडा भएको भन्ने जानकारी प्राप्त भएकोले अनुसन्धान गरिरहेको सई पराजुलीले जानकारी दिए । मोवाइल चोरी गरेको भन्दै केही युवाहरुले मृतकलाई कुटपिट गरेको बताइएको छ । उक्त बिषयमा पनि सोधपुछ र अनुसन्धान भइरहेको उनले बताए । सामान्य झगडा भएको भन्ने कुरा छ, के भएको हो बुझ्दैछौ । मोवाइल चोरीको घटनाबारे पनि के भएको हो, अनुसन्धानकै क्रममा छौ, सई पराजुलीले भने । 

प्रदेश प्रहरी कार्यालयका अनुसार मृतक अनिष र उनको साथी २० वर्षीय विशाल विश्वकर्मालाई हिजो बिहीबार दिउँसो मोवाइल चोरी गरेको आरोप लगाउदै धरानका केही युवाहरुले कुटपिट गरेको खुलेको छ । प्रहरीका अनुसार कुटपिट गरेपछि ती युवाहरुले अनिषलाई छोडेका थिए भने विशाललाई मोटरसाइकलमा राखेर लगेको थियो । मोबाइल आफुहरुले चोरी नगरेपनि फेरि कुटपिट हुने डरले १७ हजार रूपैयाँ तिरिदिने भन्दै विशालले आफ्नो साथमा भएको ४ हजार दिएको पनि खुलेको छ । कुटपिट भएको घटनाबारे भने विशालले आज अनिष मृत भेटिए पछि मात्र सार्वजनिक गरेको प्रहरीको भनाई छ ।