धरान:गएको तिहारमा देउसी भैलो थुप्रै समुह, व्यक्ति र संघसंस्थाहरुले खेले । ती समुह, संस्था वा व्यक्तिहरुले देउसी भैलो खेलेर संकलन गरेको रकम कसरी खर्च गरे होलान् ?

देउसी भैलोमा दक्षिणा संकलन गरेको रकमको उपयोग पनि व्यक्तिगत तथा संस्थागत हितमा नै खर्च गर्ने चलन छ । थोरैले मात्र सामाजिक कार्यमा खर्च गर्छन् । तिनै मध्ये धरान १५ स्थित बाँझगरा बहुउद्देश्यीय कृषक समुह हो । गएको तिहारमा देउसी भैलो खेलेर यो समुहले नगद ५० हजार १ सय संकलन गरेको थियो । समुहले यो पैसा आर्थिक अवस्था कमजोर भएकी मृगौला रोग पीडित १६ बर्षीयालाई उपचारको लागि सहयोग गरेको छ । 

समुहले धरान १५ की १६ बर्षीया सरु खवासको उपचारको लागि उक्त रकम हस्तान्तरण गरेको छ । समुहले सोमबार खवासको घरमा पुगेर नगद हस्तान्तरण गरेको हो । समुहकी अध्यक्ष ज्योति मेन्यांबो र महिला सञ्जाल धरानकी निवर्तमान अध्यक्ष सविता राईले सरुकी आमा ३५ बर्षीया विष्णुमाया र हजुरआमालाई लाई हस्तान्तरण गरेका थिए ।

पीडित बालिकाको दुवै मृगौला फेल भएको छ । उनको टिचिङ हस्पिटल काठमाण्डौंमा उपचार भइरहेको छ । उनको मृगौला प्रत्यारोपण गर्नुपर्नेछ । उनलाई आमाले नै मृगौला दिने भएपनि उपचारको लागि खर्च जुटाउन सकस परिरहेको छ । प्रत्यारोपणमा लाखौं खर्च हुने र आर्थिक अवस्था कमजोर भएको कारण सहयोग गरिएको महिला सञ्जाल धरानकी अध्यक्षसमेत रहेकी समुहकी सल्लाहकार चेतना श्रेङले जानकारी दिइन् ।

समुहकी अध्यक्ष मेन्याङ्बोले विरामी सरुलाई उपचार खर्च जुटाउने उद्देश्यले नै यसपालीको देउसी भैलो खेलिएको बताइन् । सरुको उमेर मात्र १६ बर्ष पुगेको कारणले पनि उनले अझै बाँच्नुपर्छ भन्ने भावना लिएर सहयोग अभियान चलाएको अध्यक्ष मेन्याङ्बोको भनाई छ । उनले सरुको उपचारमा सहयोग गर्न संघसंस्था, व्यक्तिहरुलाई पनि अपिल गरेकी छिन् । 

भिडियो: