इटहरी: १३ वुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैगिंक हिंसा विरुद्ध तेश्रो इटहरी सम्मेलन सम्पन्न भएको छ । 

इटहरी उपमहानगरपालिकाले प्रत्येक वर्ष लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको समापनको क्रममा इटहरी सम्मेलन गर्दै आएको छ । सम्मेलनमा गत बर्ष भरि भएका लैगिंक हिंसा विरुद्धका कार्यक्रमको समीक्षा गर्दै एक बर्षका लागि कार्ययोजना पनि तयार गरिएको छ । घोषणा पत्रमा इटहरीमा नागरिकता लिनबाट वञ्चित महिला तथा उनीहरुका सन्तानको नागरिकता प्राप्तीका लागि उपमहानगरले सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ । 

प्रत्येक वडा कार्यलयमा रहेका सामुदायिक मेलमिलाप केन्द्रमा लैगिक सहायता कक्षको स्थापना गरी महिला माथि हुने हिंसाका घटनाहरुको संबोधनका लागि आवश्यक समन्वय तथा सहयोगको सुनिश्चित गर्र्ने कार्यको थालनी गरिने भएको छ । यसै आर्थिक वर्षभित्र इटहरी उपमहानगरपालिकामा सुरक्षित स्थनपान कक्ष निर्माण गर्ने र क्रमशः सबै वडा कार्यालयहरुमा यो सेवा विस्तार गर्दै लैजाने नीति अवलम्वन गरिने घोषणा गरिएको छ । 

itiri-women

कार्यक्रमकी प्रमुख अतिथि पूर्वमन्त्री डा शिवमायाँ तुम्वाहाम्फेले महिला हिंसा न्यूनिकरणमा पुरुष सहभागितामा जोड दिइन् । उनले यस्ता अभियानहरु म्हिला लक्षित मात्र नभई पुरुष लक्षित समेत हुनुपर्ने बताइन् । कार्यक्रममा प्रदेश सांसद सर्वध्वज साँवा, संविधानसभा सदस्यद्धय रेवतीरमण भण्डारी र अनिता परियार तथा महिला सञ्जाल इटहरीकी अध्यक्ष कमला खडका, इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खडका, जसपा इटहरी सचिव योशा गुरागाँईले सम्मेलन सफलताको कामना गरेका थिए ।

उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले प्रतिवेदन प्रस्तुत गर्दै इटहरीमा लैगिक हिंसा विरुद्ध १६ दिने विशेष अभियान र बर्ष भरि अभियान सञ्चालन गरिदै आएको जानकारी दिइन् । इटहरीको वडा वडामा गठित प्रतिरक्षा समूह र किशोरी साथी समूहको क्षमता विकासका लागि यो वर्ष उल्लेख्य कार्य गरिएको बताइन् । उनले हिंसा पीडित महिलाका लागि उपमहानगरद्धारा सञ्चालित सुरक्षित आवाज गृहमा १८६ जना हिंसा पीडित महिलाले सेवा लिएको जानकारी दिइन् । उनका अनुसार इटहरीका सवै सामुदायिक विद्यालयमा लैगिक सम्पर्क ब्यक्ति तोकेर छात्रा माथि हुने हिंसा न्यूनिकरणको पहल थालिएको छ । 

लैगिक हिंसा न्यूनिकरणका लागि लैगिक हिंसा न्यूनिकरण कोषको ब्यवस्था गरिएको छ । एक बर्षमा इटहरीमा ७सय ७३ वटा लैगिक हिंसाका घटना कानुनी दायरामा आएको विवरण सुनाइन् । कार्यक्रममा इटहरी उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भोजकला दवाडीले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् ।