धरानः उद्यौलीको अवसरमा धरानमा ५ दिने चासोक तङ्नाम उत्सव शुरु भएको छ । 

किरात याक्थुङ चुम्लुङको धरान उपमहागर कार्यसमितिको आयोजनामा धरान १५ स्थित चुम्लुङ हिममा पाँच दिने चासोक तङनाम शुरु भएको हो । धरानका मेयर तिलक राईले च्याब्रुङ बजाएर उत्सवको उद्घाटन गरेका थिए । हिजो शनिबार तङसिङ गरेर उत्सव शुरु भएपनि औपचारिक उद्घाटन भने आइतबार भएको हो ।

उत्सवमा विभिन्न २२ वटा स्टलहरू पनि राखिएका छन् । स्टलहरूमा आदिवासी जन्य सांस्कृतिक परिकारहरू र सांस्कृतिक स्टलहरू रहेको सचिव जय सम्बाहाम्फेले जानकारी दिए । लिम्बु जातिले उद्यौलीलाई चासोक तङनामकोरुपमा मनाउने गर्छन् । चुम्लुङले धरानमा हरेक बर्ष चासोक तङनाम उत्सव आयोजना गर्दै आएको थियो । अघिल्लो बर्ष भने कोरोना संक्रमणको कारण उत्सव आयोजना भएको थिएन । 

chasok3

मेयर राईले धरानमा रहेका आदिबासी जनजाति समुदायको भाषा, संस्कृतिका संरक्षण सम्बर्धन गर्न उपमहानगरपालिकाले आदिबासी जनजाति विकास समिति गठन गरेर लक्षित वर्गको बजेट समानुपातिक आधारमा परिचालन गर्दै आएको बताए । बहुजाति, बहुसांस्कृतिक, बहुधार्मिक शहर धरानका स्थानिय समुदायका भावना र चाहना अनुसार आफु अघि बढ्ने उनको भनाई थियो ।

चुम्लुङ केन्द्रिय उपाध्यक्ष डा.कमल तिगेला लिम्बुले सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्बर्धन र विकासमा तिनै तहको सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिए । उनले चासोक तङनाम लिम्बु समुदायको मुख्य पर्वको रुपमा विकास भइसकेको पनि बताए । केन्द्रिय सदस्य संगीता सुब्बा, केन्द्रिय सल्लाहकार दुर्गामाया लिम्बु, हर्ष सुब्बा, जिल्ला अध्यक्ष मोहन हुक्पाचोङबाङले चासोक पर्व लिम्बु समुदायलाई सांस्कृतिक रुपमा एक ठाउँमा ल्याउने चाड भएको बताए ।

chasok2

आइतबार बिहान विजयपुर दरबार क्षेत्रमा पूजा गरिएको थियो । साथै, तीनकुनेस्थित श्रीजङ्गाको सालिकमा माल्यार्पण समेत भएको थियो । सोमबार दिउँसो के–लाङ (च्याब्रुङ नाच) प्रतियोगिता, पुस ६ गते आदिवासी जनजाति महासङ्घअन्तर्गतका आदिवासी संघ–संस्थाहरूको सांस्कृतिक प्रदर्शनी एवं तरेचा (पाहुना खाना) आयोजना हुने चुम्लुङले जनाएको छ भने साँझमा स्थानीय र राष्ट्रिय कलाकारहरूको सांस्कृतिक कार्यक्रम पनि आयोजना हुनेछ । 

chasok1 1

chasok