धरान: कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड-१९ संक्रमण रोकथामका लागि आइतबार बसेको बैठकले सोमबारदेखि लागु हुने गरि निर्णय गरेको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । परीक्षाको तालिका सार्वजनिक भैसकेका शिक्षण संस्थाको हकमा सामाजिक दूरी कायम गर्दै परीक्षा संचालन गर्ने निर्णय पनि भएको छ । यस्तै, अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने र भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ । 

यस्तै, माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने छ भने सीमा नाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ । बैठकले राजनीतिक कार्यक्रम र मेला महोत्सव नगर्न, र गर्नै परे स्थानीय प्रशासनको अनुमति पनि आवश्यक पर्ने निर्णय गरेको छ । यस्तै, बैठकले २०७८ सालमा आएको स्मार्ट लकडाउन कार्यविधिलाई कार्यान्वयनमा लैजान डीसीसीएमसीलाई आग्रह गर्ने पनि निर्णय गरेको छ ।