धरान: महिलाहरुले नेतृत्व गरेको संघसंस्थाहरुको साझा संस्थाकोरुपमा स्थापित महिला सञ्जाल धरान उपमहानगर समितिको भवन शिलान्यास भएको छ । 

धरान १३ को वडा कार्यालय नजिकै जग्गामा सोमबार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीले भवनको शिलान्यास गरेका छन् । वडा कार्यालयको स्वामित्वका रहेको १० धुर जग्गामा सञ्जालको भवन निर्माण गर्न शिलान्यास गरिएको हो । उक्त जग्गामा सञ्जाललाई भवन निर्माण गर्न उपमहानगरपालिकाले असोज २४ गते स्वीकृति प्रदान गरेको बताइएको छ । उपमहानगरपालिकाको पहलमा २०६६ सालमा सञ्जाल स्थापना भएपनि अहिलेसम्म भवन तथा कार्यालय विहिन अवस्थामा छ ।

सञ्जालकी अध्यक्ष चेतना श्रेङका अनुसार भवनको डिजाइन प्राविधिक किसोर अधिकारीले निःशुल्क तयार गरिदिएका छन् । भवनको डिजाइन ३ तलाको रहेको छ भने १ करोड ४९ लाखको स्टिमेट असोजमा निस्किएको थियो । निर्माण कार्य ढिलाई हुँदा लागत अझै बढ्न सक्ने अध्यक्ष श्रेङले बताइन् । उनले भनिन्,‘३ तलाको भवन हुन्छ । सबैभन्दा तल्लो तला अण्डरग्राउण्ड हुन्छ । भुँइतला र माथिल्लो तलाको डिजाइन छ ।’

mahila-sanjal3

भवन निर्माणको लागि सञ्जालकी अध्यक्ष श्रेङको संयोजकत्वमा भवन निर्माण उपभोक्ता समिति गठन गरिएको छ । सदस्यहरुमा सबै पदाधिकारीहरु राखिएका छन् भने पुर्वअध्यक्षहरुलाई पनि समेटेर आर्थिक समिति निर्माण गरिएको अध्यक्ष श्रेङले बताइन् । सञ्जालमा हाल ३७ वटा संघसंस्था आवद्ध छन् ।

भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दे मेयर राईले अब सञ्जाललाई कानुनी हैसियत पनि दिलाउनुपर्ने सुझाव दिए । उनले सञ्जालले महिलाहरुलाई आत्मनिर्भर बनाएको र सामाजिक मात्र नभै राजनैनिक नेतृत्वमा पनि ल्याउन सफल भएको भन्दै प्रशंसासमेत गरे । उपमेयर भण्डारीले नगरको विकासमा सञ्जालको भुमिका र योगदानको चर्चा गर्दै सहयोग गर्ने बताइन् ।

mahila-sanjal1

वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले भवन बनाउन अहोरात्र खटिने प्रतिवद्धता जनाउदै ५ लाख बजेट पनि विनियोजन गर्ने बताए । साथै उनले कानुनी बाधा अड्चन भए धरान उपमहानगरपालिकाको नाममा भवन बनाएर हस्तान्तरण गर्ने पनि बताए । कार्यक्रममा सञ्जालकी पुर्वअध्यक्ष शिला बज्रचार्यले १ लाख, अध्यक्ष श्रेङले ५१ हजार, उपाध्यक्ष यशोदा कायस्थले ५१ हजार र सचिव लहरु जिमीले पनि ५१ हजार भवन निर्माणको लागि सहयोग गर्ने घोषणा गरेका थिए । सचिव जिमीले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सपना राईले स्वागत गरेकी थिइन् भने सल्लाहकार सुनिल नेपालले पनि मन्तव्य व्यक्त गरेका थिए । 

mahila-sanjal2