धरान: सुनसरीको बर्जुमा पुष २२ गतेदेखि नै महोत्सव आयोजना भइरहेको थियो । नयाँ ओम्रिकोन भेरियन्टको जोखिम बढेपछि सुनसरी प्रशासनले पुष २७ गते भिडभाडको कार्यक्रमहरुमा प्रतिबन्धसहितको आदेश जारी गरेको थियो । 

प्रशासनको यो आदेश विपरीत सुनसरीको बर्जुमा भने महोत्सव जारी रह्यो । कोरोना संक्रमणको जोखिमलाई वेवास्ता गर्दै निरन्तरता दिइएको महोत्सवमा मंगलबार भने आगजनी र तोडफोड भएको छ । 

भारतीय कलाकार नआएपछि आक्रोशित भएकाहरुले आगजनी र तोडफोड गरेका हुन् । आयोजकले समापनको क्रममा भारतका चर्चित भोजपुरी कलाकार खेसरीलाल यादव ल्याउने प्रचार गरेको थियो । महोत्सवमा मंगलबार कलाकार खेसरीलाल आउने भन्दै ३ सय र ५ सयको टिकट काटेर ठुलो संख्यामा मानिसहरु पुगेका थिए । तर आयोजकले भनेजस्तो कलाकार यादव नआएपछि सहभागीहरु आक्रोशित हुँदै आगजनी र तोडफोड गरेका हुन् । 

अटेर गरेर महोत्सव निरन्तर गरेपछि माघ २ गतेबाट पुनः महोत्सव स्थगित गर्न पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । भारतीय कलाकार खेसरीलाल यादव उपस्थित नभएपछि अक्रोशित भिडले मञ्च तोडफोड गरेको र घटनास्थलमा ३ प्रहरी निरीक्षकको कमाण्डमा १७५ जना प्रहरी टोली खटिएको जनाएको छ ।

कार्यक्रमस्थलमा ९ हजारदेखि १० हजार उपस्थित भएको र दिउँसो साढे ३ बजे आगजनी शुरु भएको थियो । आगजनीबाट नम्बर नखुलेको ४ वटा स्कारपियो, १ वटा सिटीसफारी, १ वटा मोटररसाइकल र १ साइकलमा आगजनी भएको प्रशासनले जनाएको छ । यस्तै, १ हजार वटा प्लाष्टिकको कुर्सी, स्टेज साउण्ड सिस्टम २ थान र २ वटा जेनेरेटरमा पनि पुर्णक्षति भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। 

प्रहरीतर्फ पनि ईलाका प्रहरी कार्यालय दुहबीको बा १ झ १४१२ नम्बरको स्कारपियो पिकअप गाडीमा पनि क्षति भएको छ भने २ जना प्रहरी पनि घाइते भएका छन् । भिड तितरबितर गर्न ग्याँस गनबाट १५ सेल फयार भएको पनि प्रशासनले जनाएको छ ।