धरान: गए राती भोजपुरको षडानन्द गाउँपालिकामा एक वृद्ध दम्पत्तिलाई एक आफन्तले धारिलो हतियारले जथाभावी आक्रमण गरि गम्भीर घाइते बनाएका छन् ।

वडा नं १० साम्पाङका ७० बर्षीय गोपीलाल राई र श्रीमति ६५ बर्षीया कौशिला राईलाई जथाभावी हतियारले आक्रमण भएको हो । भोजपुर प्रहरीका अनुसार भतिजो नाता पर्ने नितेश भनिने लोकबहादुर राईले धारिलो हतियार (दाउ) ले वृद्ध दम्पत्तिलाई आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको भोजपुरको दिङ्लास्थित प्रहरी कार्यालयका प्रहरी निरीक्षक काशीराज थापाले जानकारी दिए ।

थापाका अनुसार घटना हिजो (बुधबार) राती करिब साढे ७ बजे तिरको हो । घाइते दुवैलाई एम्बुलेम्समार्फत राती नै आफन्तजनले विराटनगरस्थित विराट नर्सिङ होममा पुर्याएर उपचार भइरहेको पनि प्रहरी निरीक्षक थापाले जानकारी दिए । ‘अहिलेसम्म लोकबहादुरले धारिलो हतियार प्रयोग गरि घटना गराएको भन्ने देखिएको छ, र उसलाई नियन्त्रणमा लिएका छौ । परिवारको तर्फबाट जाहेरी आएपछि अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढ्छ,’थापाले भने ।

जसले सहारा दिए, उसैलाई आक्रमण

प्रहरी नियन्त्रणमा रहेका लोकबहादुरलाई वृद्ध दम्पत्ति गोपीलाल र कौशिलाले नै घरमा बस्न दिएका थिए । साइनोमा भतिजो पर्ने लोकबहादुर भारतको अरुणाञ्चल राज्यमा बस्थे । त्यहाँबाट उनी पुख्यौली थलो आएपछि गोपीलालले नै नागरिकता बनाउन पनि सहयोग गरेको आफन्त जितेन्द्र राईले जानकारी दिए ।

उनका अनुसार घरमा वृद्ध राई दम्पत्ति मात्र बस्थे । लोकबहादुर आएपछि उनलाई पनि बस्ने ठाउँ दिएका थिए । घर बनाउने तयारीमा रहेका लोकबहादुर जाँडरक्सी असाध्यै पिउने गरेका थिए । ‘हिजो पनि बिहेमा गएर पिएर आएको रहेछ, बेलुका घर आएपछि दाउले जथाभावी हानेछ,’उनले भने,‘असाध्यै दुःखद घटना भयो ।’ उनका अनुसार घाइते दुवैको विराट नर्सिङ होममा उपचार भइरहेको र अप्रेशन गर्ने तयारी भइरहेको छ ।