धरान: ठगीको आरोप लागेका कथित महामानव भनिने टीकाप्रसाद विश्वकर्माका सहयोगी र समर्थकहरुको समुहले पत्रिकाको कार्यालयमा पुगेर धाकधम्की दिएका छन् ।

विश्वकर्माका पुर्वसहयोगी तथा पुर्वसमर्थकहरुले आफुहरु ठगिएको भन्दै पत्रकार सम्मेलन गरेपछि लेखिएको समाचारबारे एक समुहले हिजो बिहिबार धरान ८ स्थित कोशी पत्र दैनिकको कार्यालयमा पुगेर धम्की दिएका हुन् । उक्त पत्रिकाका अनुसार उक्त समुहले कार्यालयका कर्मचारी र सञ्चारकर्मीहरुलाई धाम्की दिने, तर्साउने गरेका थिए । कार्यकारी सम्पादक दिनेश गजमेरले भने, समाचारको बिषयमा कार्यालयमा आएर कर्मचारी, पत्रकार भाईहरुलाई धम्की दिदै, कुट्न खोज्दै तर्साइरहेको रहेछ । म पुगेर समाचारमा चित्त नबुझे प्रक्रियामा जान सकिन्छ, यसरी धम्की दिने होइन भनेर प्रतिवाद गरे, र प्रहरीलाई फोन गरेपछि मात्र उनीहरु विस्तारै साइड लागे ।

यसैबीच, उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ सुनसरी शाखाले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका सचिव ध्रुव ढकालले एक विज्ञप्ती जारी गर्दे महामानव बनेर करोडौको ठगी भन्ने शिर्षकमा प्रकाशित समाचारबारे पत्रिकाको कार्यालयमा हुलजत्था लिएर प्रमाण खै, कसले लेखेको, किन लेखेको लगायत अपशब्द प्रयोग गरि धम्की दिएको र यस किसिमको घटनाले प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पुग्ने जनाएका छन् । महासंघले यस्ता घटना तत्काल रोक्न र पुनः दोहोरिन नदिन आग्रह पनि गरेका छन् । 

समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए खण्डन गर्ने वा त्यसको कानुनी उपचार खोज्न वैधानिक विधि र स्थापित पद्दती हुँदा हुदै पत्रिकाको कार्यालयमा पुगेर धम्की दिनु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको महासंघको ठहर भएको उल्लेख गर्दे धम्की दिने व्यक्तिहरुलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभुति दिलाउन पनि माग गरेको छ । 

यसैगरि, प्रेस चौतारी नेपाल सुनसरी शाखाकी अध्यक्ष शुभद्रा प्याकुरेलले पनि विज्ञप्ती जारी गर्दै समाचारको बिषयमा पत्रिकाको कार्यालयमा पुगेर धम्की दिएकोप्रति घोर भत्र्सना गरेकी छिन् । चौतारीले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको लागि प्रशासनसँग पनि माग गरेको छ भने पत्रकार महासंघलाई पनि उक्त घटनाको सत्यतथ्य छानबिनको लागि ध्यानाकर्षण गराउको छ । 

यसैगरि, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरी शाखाले पनि पत्रिकाको कार्यालयमा धम्की दिएको घटनाप्रति आपत्ति प्रकट गर्दे निन्दा गरेको छ । अध्यक्ष नविन गरुङले एक विज्ञप्तीमार्फत अराजक र उच्छृङ्खल जुनसुकै पक्ष वा जोसुकै भएपनि कडा कारबाहीको लागि प्रहरी प्रशासनसँग पनि माग गरेका छन् । उनले मिडिया हाउस र त्यहाँका पत्रकारहरूको यथोचित सुरक्षाको निम्ति पनि नेपाल सरकार, स्थानीय प्रशासन र निकायसँग माग गरेका छन् । उनले संस्थागत रूपमा फोनिज सुनसरी पत्रकारहरुको पक्षमा रहेको उल्लेख गरेका छन् । 

के हो विवाद ?

सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दी जलपाई चोकमा ज्योतिष शिव सेवा केन्द्रका संस्थापक टीकाप्रसाद विश्वकर्माले आफुमा दैवी शक्ति भएको, आफु महामानव र इश्वरकोरुप भएको भन्दै सयौं सर्वसाधारण जनतालाई ठगी गरिरहेको आरोप उनकै पुर्व चेला एवं पुर्वभक्तजनहरुले लगाएका छन् ।

उनीहरुले गत पुष २२ गते धरानमा पत्रकार सम्मेलन गरेर विभिन्न समस्या लिएर पुगेका सर्वसाधारणहरुलाई विश्वकर्माले भक्त बनाउने, भक्तहरुमा विभिन्न देवी देवता उतारि दिने, देवी देवताहरुसँग भेट गराउनेलगायत वहानामा ठगी गरिरहेको आरोप लगाएका थिए । 

यो ठगी कार्य भएको र त्यसबारे प्रहरी, सुनसरी प्रशासनमा पुगेर उजुरी दिदा पनि कारबाही नभएको भन्दै उनीहरुले पत्रकार सम्मेलन गर्न बाध्य भएको बताएका थिए । सोही पत्रकार सम्मेलनको समाचार कोशी पत्र दैनिकसहित अन्य पत्रपत्रिका, अनलाइन मिडियाहरुमा प्रकाशित भएको थियो ।