ओखलढुंगा: सडक निर्माणको क्रममा स्काभेटरले निकालेको ढुंगा खसेर गुडिरहेको बोलेरो जिपलाई किच्दा ओखलढुंगामा ३ जनाको ज्यान गएको छ । 

उक्त दुर्घटना आज बिहान करिब ९ बजेतिर सिद्धिचरण नगरपालिका ३ नारायणथानमा भएको ओखलढुंगाका पत्रकार पुर्णप्रसाद न्यौपानेले जानकारी दिए । ढुंगा खसेर सदरमुकामतर्फ गइरहेको को १ ज ३५६९ नम्बरको बोलेरोलाई किचेको थियो । ढुंगा खसेर जिपलाई किच्दा सिद्धिचरण नगरपालिका १ का ७ बर्षीया युनिषा कोइराला, १० बर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० बर्षीय हेमबहादुर मगरको मृत्यु भएको छ । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो ।

यसैगरि, जीपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएको बताइएको छ । देवबहादुर र सञ्जिवको अवस्था गम्भीर रहेको र घाइतेहरुलाई काठमाण्डौं पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । ओखलढुंगा निशंखे सडक ग्राभेलको ठेक्का पाएर कान्छाराम कन्सट्रक्सनले बाटोमाथि ढुंगा झिक्ने काम गरिरहेको छ । स्काभेटर लगाएर  ढुंगा झिक्ने क्रममा जिपमाथि खसेर दुर्घटना भएको हो ।