धरान: मोरङको गछियास्थित बहिनीको घर हिडेकी एक महिलालाई झुक्याएर होटलमा पुर्याई बलाकार गर्ने २ युवासहित एक महिला पनि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३६ वर्षीय अर्जुन श्रेष्ठ र उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ रहेका छन् । उनीहरुसँगै प्रत्यक्षदर्शी भनिएकी आरती श्रेष्ठ पनि समातिएका छन् । सोही घटनामा संलग्न रहेको भनिएका रामबहादुर नेपाली फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका अर्जुन सुन्दरहरैंचा–४ बलियामा रहेको श्रेष्ठ होटल एन्ड फेमिली लजका सञ्चालक हुन् भने आरती होटलकी कर्मचारी हुन् । बलात्कृत महिलाको स्वास्थ्य गम्भीर भएपछि श्रेष्ठ र आरतीले उपचार गर्न विराटनगर लगेको बेला प्रहरीले उनीहरुलाई शनिबार नियन्त्रणमा लिएको हो । 

मोरङ प्रहरीका अनुसार पीडित महिला शुक्रबार गछिया पुल नजिक पुगेर एक युवालाई बहिनीको घरको लोकेशन सोधेकी थिइन् । ती युवालाई उनलाई घर पुर्याइदिने भन्दै गाडीमा राखेर होटल पुर्याएको र राती ३ जनाले बलात्कार गरेको खुलेको छ ।  मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारुङले मिडियालाई दिएको जानकारी अनुसार शुक्रबार राती होटलको कोठामा थुनेर तीन जनाले पालैपालो बलात्कार गरेका थिए । उक्त घटनाबारे प्रहरीले शनिबार दिउँसो १ बजेतिर मात्र थाह पाएको हो । 

प्रहरीका अनुसार अत्यधिक रक्तस्राव भएको कारण पीडितको अवस्था गम्भीर छ । पीडितको यौनांग क्षतविक्षत भएको उपचारमा संलग्न कोशी अस्पतालका चिकित्सकले जानकारी दिएका छन् । मध्यराती महिला चिच्याउदा कुटपिट भएको र यौनांगमा हात हालेर अर्जुनले क्षतविक्षत बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि प्रहरीको भनाई छ । पीडित ३० बर्षीया महिला विवाहित हुन् । उनका ४ बर्ष र १७ महिनाका दुई छोरी भएको आफन्तजनले जानकारी दिएका छन् । आर्थिक अवस्था कमजोर भएकी ती महिला शुक्रबारदेखि मात्र नाबालिका छोरी बहिनीको जिम्मा लगाएर इटहरीस्थित एक घरमा काममा जान थालेकी थिइन् । पीडित  खोटाङबाट गत असोजमा मात्र परिवारसहित बेलबारी बसाई सरेर आएका थिए । 

प्रहरीका अनुसार शुरुमा गाडीमा राखेर रामबहादुरले महिलालाई होटलमा लगेका थिए । त्यहाँ एक छिनमा बहिनीको घर पुर्याईदिन्छु भनेर केही खानेकुरा दिएको र बहोस बनाएर कोठामा लगेर पालैपालो बलात्कार गरेको पाइएको छ । घटनाबारे पीडितकी बहिनीले शनिबार बिहान थाह पाएकी थिइन् । बिहान फोन गरेपछि बहिनी होटल पुगेर उपचारमा लैजान आग्रह गर्दा आफुमाथि दुव्यर्वहार भएको बहिनीको भनाई छ ।