धरान: सुनसरीको १२ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या इटहरी उपमहानगरपालिकाको देखिएको छ । 

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार इटहरीको जनसंख्या १ लाख ९८ हजार ९८ भएको छ । तीमध्ये ९४ हजार ३०८ पुरुष छन् भने महिलाको संख्या १ लाख ३ हजार ७०९ रहेको छ । 

दोस्रो धेरै जनसंख्या भएको तह धरान उपमहानगरपालिका छ । धरानको जनसंख्या १ लाख ७३ हजार ९६ जना पुगेको छ । त्यसमध्ये ८२ हजार ६८३ जना पुरुष र ९० हजार ४१३ महिला छन् । धरानमा जनगणना भएको घरसंख्या ३४ हजार ८३४ रहेको छ भने परिवार संख्या ४३ हजार ८१५ रहेको प्रारम्भिक नतिजाले देखाएको छ ।

यस्तै, तेस्रो धेरै जनसंख्या बराहक्षेत्र नगरपालिकाको ९१ हजार ८९१ रहेको छ । त्यसमध्ये पुरुष ४३ हजार १७८ र महिलाको जनसंख्या ४८ हजार ७१३ भएको छ । इनरुवा नगरपालिकाको जनसंख्या ७५ हजार ९२०, दुहबी नगरपालिकाको जनसंख्या ६७ हजार ५१, रामधुनी नगरपालिकाको ६३ हजार ३७८,  हरिनगर गाउँपालिकाको ४९ हजार ५०१, भोक्राहा नरसिंह गाउँपालिकाको ४९ हजार ३७१ र कोशी गाउँपालिकाको ४८ हजार ७६८ जनसंख्या पुगेको छ ।

यसैगरि, गढी गाउँपालिकाको जनसंख्या ३९ हजार ४७८, देवानगञ्ज गाउँपालिकाको ३९ हजार ३६७ र बर्जु गाउँपालिकाको ३५ हजार ५३३ पुगेको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा उल्लेख छ । 

सुनसरी सबैभन्दा धेरै जनसंख्या वृद्धिदर भएको ५ जिल्लामा पनि परेको छ । यहाँको बार्षिक वृद्धिदर १.९४ रहेको विभागले जनाएको छ । सुनसरीको २०६८ को जनगणना अनुसार जनसंख्या ७ लाख ६३ हजार ४८७ थियो भने २०७८ को जनगणना अनुसार ९ लाख ३४ हजार ४६१ पुगेको छ । जिल्लामा पुरुषको संख्या ४ लाख ५४ हजार ७५ जन छन् भने महिलाको संख्या ४ लाख ८० हजार ३८६ पुगेको छ ।  

janaganana1