धरान: मोरङको धनपालथान ७ बोर्डिङ टोलमा रहेको उखुबारीमा खाल्डोमा गाडेको अवस्थामा २ जनाको शव फेला परेको छ । 

दुई जनाको शव भेटिए पनि हालसम्म एक जनाको मात्र पहिचान खुलेको छ । पहिचान भएका मध्ये एक धरान ३ घर भएका तर हाल सपरिवार भक्तपुरमा बस्दै आएका ४९ बर्षीय राजेन्द्रकुमार श्रेष्ठ भएको मोरङ प्रहरीले जनाएको छ । मृतक श्रेष्ठ करिब डेढ दशकदेखि भक्तपुरमा नै बस्दै आएका थिए । 

उनको घर धरान ३ स्थित कैलाश पथमा पर्छ । उनी इन्द्रकुमार श्रेष्ठका कान्छा छोरा हुन् । हाल धरान ३ मा रहेको उक्त घर भने भाडामा दिइएको छ । धरानमा रहदा सुनको पसल थियो । उनी भक्तपुर गएपछि जापान पनि गएको र फर्किए पछि जग्गाको कारोबार पनि गर्दै आएका थिए भने इलेक्ट्रोनिक पसल पनि खोलेका थिए । मृतकको श्रीमति, दुई छोरा र १ छोरी छन् ।

परिवारका सदस्यहरुको भनाई अनुसार उनको झापामा रहेको प्लटिङमा साथीहरुसँग व्यवहार बिग्रेको थियो । उनी गएको मंसिर पहिलो साता नै व्यवहार मिलाउने भन्दै धरान आएका थिए । उनै श्रेष्ठको शव प्रहरीले बिहिबार उखुबारीमा गाडेको अवस्थामा फेला पारेको हो । मोरङ प्रहरी प्रमुख जर्नादन जिसीका अनुसार श्रेष्ठको एनटिसीको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला परेको थियो । 

श्रेष्ठको शव भेटिएको ठाउँदेखि ३० मिटर दुरीमा अर्को शव भेटिए पनि पहिचान हुन नसकेको एसपी जिसीले जानकारी दिए । पहिचान नखुलेको शव भने बुधबार राती भेटिएको थियो । उखु काट्ने क्रममा किसानले खाल्डो खनेर पुरेको भेटेपछि प्रहरीलाई खबर गरेका थिए । एसपी जिसीका अनुसार शवको अवस्था हेर्दा २०-२५ दिन अघिको घटना जस्तो देखिएको छ ।