धरान: धरान १४ विजयपुरस्थित महत्वपुर्ण धार्मिक मठमन्दिरहरुमा सर्वसाधारण भक्तजनहरुलाई पूजा गर्न रोक लगाइएको छ । 

कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले धामिकस्थल, मठमन्दिरहरुमा दैनिक नित्य पुजाबाहेकका गतिविधिहरुमा रोक लगाएको हो । जिल्ला प्रशासनले माघ ४ गतेदेखि नै निर्णय गरेर आदेश जारी गरेपनि पुर्णरुपमा कार्यान्वयन भएको थिएन । आजदेखि भने प्रहरीले धरानको बुढासुब्बा, दन्तकाली र पिण्डेश्वरलगायतका मठमन्दिरहरुमा भिडभाड हुन नदिन सर्वसाधारण भक्तजनहरुलाई रोक लगाएको छ । 

यद्यपी, बिहानै सर्वसाधारणहरु भने मन्दिरमा प्रवेश गरिसकेका थिए । जिल्ला प्रशासन कार्यालयबाट आदेश पुर्णरुपमा पालना गर्न निर्देशन आएपछि प्रहरीले मन्दिर व्यवस्थापन समितिलाई नित्य पुजा मात्र गर्न र भक्तजनहरुलाई भिडभाड गरि पुजा गर्न नदिन आग्रह गरेको छ । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जिल्ला प्रशासन कार्यालयबाट निर्देशन आएपछि नित्य पुजाबाहेक अन्य सबै गतिविधि बन्द गर्न सुचना दिइएको र मन्दिर व्यवस्थापन समितिलाई पनि आग्रह गरिएको बताए । 

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवले माघ ४ गते नै धार्मिकस्थलहरुमा नित्यपूजाबाहेक सबै कार्यहरु अर्को आदेश नआएसम्म रोक्न आदेश दिइसकेको बताए । कोरोना संक्रमण बढ्दै गएको र मानिसहरुको मृत्यु पनि हुन थालेपछि पुर्णरुपमा कार्यान्वनय अघि बढाइएको उनले बताए ।

समन्वय नगरिएकोमा वडाअध्यक्ष असन्तुष्टी

सुनसरी प्रशासनले समन्वय नगरि मठमन्दिरहरु बन्द गराएको प्रति वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भटट्राई भने असन्तुष्ट छन् । उनले स्थलगत अवस्था नबुझिकनै र वडा कार्यालयसँग समन्वय नगरि मन्दिरहरु बन्द गराएकोप्रति रोष प्रकट गरेका छन् । 

अध्यक्ष भटट्राईले सर्वाजनिक यातायत, बजार, सब्जीमण्डी सबैतिर भिडभाड भइरहेको र आवश्यक मापदण्ड पनि पालना नगरिएकोबारे कडाई तथा अनुगमन नगर्ने तर धार्मिक क्षेत्रमा मात्र संक्रमण बढेको जस्तरी एक्कासी बन्द गराउदै हिडेको भन्दै प्रहरी प्रशासनप्रति असन्तुष्टी जनाए । उनले भने,'अग्रिम सुचना पनि छैन । माइकिंग पनि भएन, एकै पटक आएर बन्द भनेर गेट लगाइदिएर बन्द हुन्छ ?'

उनले स्वास्थ्य प्रोटोकललाई मध्यनजर गर्दै अनुगमन गर्नुपर्ने बताए । मठमन्दिरमा कति भक्तजन आउछन् भनेर विश्लेषण नगरि बन्द गरिएको उनको भनाई छ । 'मान्छे खुलेआम बजारमा हिडेका छन् । भिडभाड भइरहेको छ, बाहिरबाट घुम्न आइरहेका छन्, त्यसबाट चै संक्रमण हुदैन ? मन्दिरमा आउने भक्तजनहरुबाट मात्र संक्रमण हुन्छ ?'उनले भने ।