मोरङ: मोरङको पथरी शनिश्चरेमा आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । 

पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठ आमाको हत्या आरोपमा पक्राउ परेका हुन् । उनले आफ्नै ९० बर्षीया जगमाया श्रेष्ठको हत्या गरेको प्रहरीको भनाई छ । माघ १२ गतेदेखि घरबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछि जलाएको भन्ने सूचना प्रहरीले पाएको थियो । सोही सुचनाको आधारमा सुक्ष्म अनुसन्धान गरेको ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले श्रेष्ठलाई हिजो सोमबार पक्राउ गरेको जनाएको छ । 

पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाह नदिई आफ्नो श्रींमतीको नाममा बनाएको अनुसन्धानबाट खुलेको छ । उक्त कुरा आमा र अन्य भाईहरुले जानकारी पाएपछि अदालतमा मुद्दा समेत परेको थियो । अदालतले उक्त जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने फैसला गरेको थियो । त्यसैको रिसको आवेगमा आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र उक्त घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रहरीका अनुसार माघ १२ गतेदेखि आमा हराएको निवेदन उनका जेठा छोराले माघ १४ गते दिएका थिए । खोजी गर्ने क्रममा आफन्त र स्थानीयले शव जलाएको शंकास्पद ठाउँ देखेका थिए । गुरुङ समुदायको दाहसंस्कार स्थलमा पुगेको प्रहरीले वृद्धाको केही अंगहरू पनि बरामद गरेको थियो । कान्छा छोराले हत्यापछि माघ १२ गते बिहान उज्यालो नहुँदै शव जलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि कान्छा छोरा पक्राउ परेका हुन् ।