धरान: इटहरी २ पिपलचोकमा भएको दुर्घटनामा धरानका एमाले नेता एवं पुर्वजनप्रतिनिधि योगेन्द्र बजगाईको मृत्यु भएको छ ।

आज (मंगलबार) दिउँसो करिब १ बजे भएको दुर्घटनामा घाइते बगजाईलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । उनको बाटोमा नै मृत्यु भइसकेको चिकित्सकले बताएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । 

ट्राफिक प्रहरीका अनुसार उत्तर (धरानतिर)बाट दक्षिण जादै गरेको को १ ख ६१०८ नम्बरको तेलको ट्यांकरमा सोही दिशामा गइरहेको को १ ह ६४४१ नम्बरको टेम्पो पछाडिबाट ठोक्किएको थियो । सोही टेम्पोमा सवार रहेको बजगाईसहित ४ जना घाइते भएका थिए । गम्भीर घाइते भएका ५६ बर्षीय बजगाईलाई उपचारको लागि वीपी प्रतिष्ठानमा ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही टेम्पोमा सवार धरान १३ की ३४ बषीया निलु वर्मा गम्भीर घाइते भएकी छिन् भने उनको ११ बर्षकी छोरी नियासा वर्मा र ४ बर्षकी छोरी दिप्यांकी वर्मा पनि घाइते छिन् । उनीहरुको वीपी प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा टेम्पो चालक धरान १६ का रोशन बस्नेत सामान्य घाइते भएका छन् । टेङ्कर चालक बराह ८ का ३४ बर्षीय लव नारायण चौधरी इलाका प्रहरी कार्याल्य इटहरीको नियन्त्रणमा छन् । मृतक बजगाई धरान १५ निवासी हुन् । उनी एमालेको अग्रज नेता हुन् । उनी वडाका पुर्वजनप्रतिनिधि पनि हुन् भने गएको जिल्ला अधिवेशनमा उनी जिल्ला आयोजक कमिटीका सदस्य पनि थिए ।