धरानः प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तामाङ जातिको मुख्य पर्व सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राईले आज शुभकामना सन्देश जारी गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विविधता नेपालको पहिचान, गहना र सम्पत्ति बनेको धारणा व्यक्त गरेका छन् । उनले सबै भाषा, धर्म, सँस्कृति, चाडपर्व संरक्षण एवं सम्बद्र्धन गर्नु राज्य र सम्पुर्ण नेपालीको साझा दायित्व भएको पनि बताएका छन् ।

मुख्यमन्त्री राईले सबै पर्वहरु राष्ट्रिय एकताको माध्यम बन्न सकोस् भन्ने कामना गर्दै यी पर्वहरुले सबैमा एकताको भावना विकास गराउन सहयोग पुग्ने अपेक्षा पनि व्यक्त गरेका छन् । 

यस्तो छ मुख्यमन्त्री राईको सन्देश

शुभकामना

तामाङ जातिको महान चाड सोनाम ल्होसारको सुखद अवसरमा प्रदेश नं. १ र देश, विदेशमा बस्नुहुने दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गर्दछु । 

माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार तामाङ जातिको नयाँ वर्ष हो । प्रकृति पूजक तामाङ जातिले सोनाम ल्होसारका अवसरमा आफ्ना कुल र प्रकृतिको पूजा गर्दछन् । ल्होसारका दिन यो समुदायमा छोरीचेलीलाई बोलाएर टिका लगाइदिने चलन छ । सोनाम ल्होसारका अवसरमा घर–आँगन सफा गरी बुद्धका चित्रहरू अंकित ध्वजापताका टाँगेर पूजाअर्चना गरिन्छ । त्यस्तै परम्परागत पहिरनमा सजिएर एकै ठाउँमा भेला भई तामाङ सेलो गाएर नाचगान रमाइलो गरिन्छ । 

नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको छ । यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ । त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ । त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो । 

हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित फेरि पनि संसारभरि फैलिएर रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा सोनाम ल्होसारका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।


राजेन्द्रकुमार राई

मुख्यमन्त्री

मिति: २०७८ माघ १९ गते, बुधबार