धरान: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको सिमानामा पर्ने पुर्वपश्चिम लोकमार्ग लौकही नजिकै विपरीत दिशाबाट आएको बस र ट्रक जुध्दा केहीको हताहत भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार पुर्वबाट पश्चिमतर्फ गइरहेको बस र पुर्व आइरहेको ट्रक एकआपसमा जुधेर दुर्घटना भएको हो । बस र ट्रक जुधेपछि आगो लागेको र केही व्यक्तिको मृत्यु भएको पनि थापाले जानकारी दिए । घटनास्थलमै रहेको एसपी थापाका अनुसार बसमा च्यापिएका केही मानिसहरुको मृत्यु भएको छ । तर कति संख्या भन्ने प्रष्ट नभएको उनले बताए । 

इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुमन तिम्सिनाले भने ३ जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार बस र ट्रकको चालकसहित ३ जना घटनास्थलमा मृत्यु भएको छ । ‘बसको चालकसहित ३ जनाको स्पट डेथ भएको छ,’उनले भने । यो समाचार तयार पार्दासम्म मृतकको सनाखत भएको छैन भने कति घाइते भए भन्ने पनि संख्या यकिन छैन । 

१ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रवक्ता डिएसपी तिम्सिनाका अनुसार काकडभिट्टाबातट काठमाण्डौं तर्फ जादै गरेको ना ८ ख ८४९३ नम्बरको शुभबिहानी ट्राभल्स र पुर्वतर्फ आउदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक लौकहीदेखि थोरै पुर्व खनिया पुलमा जुधेको हो । काकडभिट्टाबाट १४ जना यात्रु लिएर हिडेको बसमा दुर्घटनास्थलमा पुग्दा २७ जना यात्रु भएको प्रारम्भिक जानकारी पाएको तिम्सिनाले बताए । प्रतिकुल मौषम, तीब्र गति र साघुरो पुलको कारण दुर्घटना भएको डिएसपी तिम्सिनाको भनाई छ । दुवै गाडीमा आगो लागेको र पछि दमकलले नियन्त्रणमा लिइसकेको पनि उनले बताए । 

(समाचार तयार पार्दा १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रवक्ताले ४ जना मृत्यु भएको जानकारी दिएकोमा ३ जनाको मात्र मृत्यु भएको पुष्टि भएकोले सच्याइएको छ । स.)