धरान: आफ्नै परिवारभित्र सामान्य निहुँमा जघन्य हत्यासम्मको घटनाहरु समाजमा भइरहेका छन् । पछिल्लो समय झापा र मोरङमा यस्तै दुई घटना भएको छ। 

१ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार झापाको झापाको भद्रपुर नगरपालिका १ लाहुरे चोकमा श्रीमतिको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३४ बर्षीय अमर बहादुर तामाङ रहेका छन् । उनले चक्कु प्रहार गरि आफ्नै श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । 

तामाङले आज बिहान साढे ५ बजे मोबाइल बिगारेको निहुँमा ३४ बर्षीया अनिता लिम्बुलाई घाँटी तथा शरीरमा चक्कु प्रहार गरेका थिए । श्रीमतिको घरमा नै ज्यान गएको थियो । श्रीमान् तामाङलाई सीमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिएर थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा पठाएको छ । मृतक शव पोष्टमार्टमको लागी मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरि, मोरङको उर्लाबारी नगरपालिका ४ आइतबारेमा आफ्नै आमाको हत्या अभियोगमा ३५ बर्षीय गंगा प्रसाद भण्डारी पक्राउ परेका छन् । उनले आफ्नै आमालाई चिरपट प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले हिजो आइतबार बेलुका साँढे ४ बजे घरयासी बिबादमा ७० बर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपट प्रहार गरेका थिए ।

चिरपट प्रहारबाट गम्भिर घाईते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । आमाको मृत्यु भएपछि छोरा गंगा प्रसादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएर कानुनी प्रकृया अघि बढाएको जनाएको छ ।