सुनसरी: कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेकालाई छुटाउने भन्दै ठगी गर्ने इटहरीका एक व्यक्ति पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी २० का मन्दु भन्ने जसबहादुर लिम्बु पक्राउ परेका हुन् । लिम्बु र इटहरी १२ का भरत चौधरीले तेह्रथुम कारागारमा थुनामा रहेका सुरेन्द्र पुरी र भाई वालकृष्ण पुरीलाई थुनुवा मुक्त गराई दिने भन्दै ३३ लाख ठगी गरेको उजुरी प्रहरीमा परेको छ । दुवै फरार भएकोमा लिम्बु पक्राउ परेको प्रहरीले जनाएको छ । 

उनीहरुले तेह्रथुम कारागारमा रहेका सुरेन्द्रकी श्रीमति इटहरी १२ खनार बस्ने तारा कार्की पुरीबाट रकम ठगी गरेका थिए । प्रहरी र न्यायाधिशसँग आफुहरुको राम्रो सम्बन्ध छ भन्दै थुना मुक्त गरिदिने आश्वासन दिएर नगद ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका लिम्बुविरुद्ध ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।