मोरङ: अवैध औषधी बिक्री गर्ने मोरङको सुन्दरहरैचा नगरपालिका १९ बिराटचोकका दुई मेडिकलका सञ्चालकसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नेति फर्मा र  डे–ड्रिम मेडिसिन सेन्टरका सञ्चालक ठुलो परिणामको अबैध औषधीसहित पक्राउ परेका हुन् । उनीहरुलाई पक्राउ गरेसंगै उक्त औषधी खरिद गरी लागुऔषधकोरुपमा प्रयोग गर्ने अन्य ७ जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त दुई मेडिकलबाट चिकित्सकको अनुमती बिना अबैधरुपमा महंगो मुल्यमा लागुऔषध दुर्ब्यसनीहरुलाई अनाधिकृतरुपमा औषधी बिक्रीबितरण गरिरहेको बिशेष सूचना प्रहरीले पाएको थियो । 

सोही सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलाय बिराटनगरको आरआइटी समुह र ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले हिजो सोमवार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मेडिकल संचालक सुन्दरहरैचा १० का ४५ बर्षीय शुसिल काफ्ले र उनकी श्रीमती ३२ बर्षीया गोमा कार्की रहेका छन् । यस्तै, लागुऔषध सेवनकर्ताहरु सुन्दरहरैचा १ का २३ बर्षीय सनम खवास, सुन्दरहरैचा १० का ३० बर्षीय अरुण राई, ३५ बर्षीय सनम तामाङ, सुन्दरहरैचा ९ का २४ बर्षीय सुवास राई, २२ बर्षीय जुसन सुनाम, ३१ बर्षीय निमेस परियार र ३४ बर्षीय अनुप खड्का रहेका छन् । 

उक्त दुई मेडिकलबाट प्रहरीले स्पास्पेन ४४ हजार ३७० चक्की, एन्टिकफ १७ हजार ६२० चक्की, न्युरिन १८ हजार ९२३ चक्की, प्रि जेड १ हजार २ सय चक्की र अपाबलिन १४ हजार ६ सय चक्की बरामद गरेको छ । अनाधिकृत रुपमा दुर्ब्यसनीमा लागेका ब्यक्तिहरुलाई औषधी बिक्री बितरण गर्ने दुवै मेडिकल सञ्चालकलाई ठूलो परिणामको औषधीहरुसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।