धरान: लालपुर्जाको आशमा रहेका सुकुम्बासीहरुले बुधबार मोरङको सुन्दरहरैचा नगरपालिकामा वृहत प्रर्दशन गरेका छन् । उनीहरुले आगामी निर्वाचनअघि लालपुर्जा नपाए भोट नहाल्ने चेतावनी दिएका छन् । 

नेपाल बसोबास बस्ती संरक्षण समाजको अगुवाई सुन्दर हरैचामा वृहत र्याली तथा प्रर्दशन भएको हो । उनीहरुले नगर प्रमुख शिव ढकाललाई ५ बुँदे ध्यानाकर्षण पत्र पनि बुझाएका छन् । समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की र नगर अध्यक्ष सालिकराम बिकले मेयर ढकाललाई ध्यानकर्षण पत्र बुझाएका थिए ।

अध्यक्ष कार्कीका अनुसार अहिलेसम्म उधारोमा भोट हाल्दै आएका सुकुम्बासीहरु अब पनि लालपुर्जा नपाए आउने निर्वाचनमा भोट नहाल्नेसम्मको रणनीति बनाउन जुटेका छन् । उनले भने, 'हरेक निर्वाचनमा आश्वासन मात्र पाएका छौ, यो पटक देशैभर उधारोमा भोट नहाल्ने भन्दैछौ । 'नो लालपुर्जा नो भोट'को अभियानमा हामी सक्रिय छौ ।' 

sukumbasi2

      सुकुम्बासीहरुले लालपुर्जा प्राप्तिका लागि अन्तिम लडाइ लड्ने उद्घोष पनि गरे । उनीहरुले भुमी आयोगको लामो बाटोलाई छोडेर स्थानीय तहको सिफारिसमा जिल्ला नापी कार्यालयबाट जग्गा नाप्ने र मालपोत कार्यालयबाट फास्ट ट्र्याकमा लालपुर्जा दिनुपर्ने माग राखेका छन् । साथै अब सुकुम्बासीको नाममा भ्रमको राजनीति नगर्न पनि ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष कार्कीका अनुसार देशका १५ जिल्लामा अभियान सकिएको र फाल्गुन भित्र सबै जिल्लामा सक्ने लक्ष्य रहेकोछ । 'हरेक निर्बाचनमा आश देखाउदै मत माग्दै झुक्याउनेहरुको असलीरुप सुकुम्बासीले थाहा पाउन थालेकोले हाम्रो अभियान शक्तिशाली हुँदै गएकोछ,' कार्कीले भने । ध्यानाकर्षण पत्र बुझ्दै सुन्दर हरैचाका मेयर ढकालले आउने निर्वाचन अघि नै लालपुर्जा दिने तयारी रहेको बताए ।

sukumbasi1