धरान: सर्दु जलाधार क्षेत्रको संरक्षण गर्ने उद्देश्यले धरान–भेडेटार कोशी राजमार्ग अन्तरगत शनिबार बृहत रुपमा सरसफाई कार्यक्रम गरिने भएको छ । 

धरान उपमहानगरपालिकाको आयोजनामा आउदो शनिबार धरान १३ स्थित बेसक्याम्पदेखि भेडेटारसम्म बृहत सरसफाई कार्यक्रम गर्ने तयारी भएको हो । बिहिबार नगर प्रमुख तिलक राईको अध्यक्षतामा बसेको धरानका सामाजिक तथा जातीय संघसस्थाका प्रतिनिधिहरुसँग गरेको छलफलले यस्तो निर्णय गरेको हो । शनिबार विहान ७ बजे बेसक्याम्पमा भेला भई सरसफाई कार्यक्रम सुरु गरिनेछ ।

भेडेटार पुगेर खानपिनसहितको कोणसभा गरेर फर्कने कार्यक्रम तय गरिएको छ । वातावरण शाखाका अनुसार कोशी राजमार्ग अन्तरगत सडकमा दायाँबायाँ फालिएका सिसाजन्य तथा प्लाष्टिकजन्य फोहोरहरु संकलन  गरि उठाईनेछ । ‘पानीको मुहानलाई सधै सफा राखौं, प्राकृतिक सम्पदाको सम्बद्र्धन गरौं, जथाभावी फोहोर नफालौं र सफा रहौं, स्वस्थ जिवन निर्वाह गरौं’ भन्ने सन्देशका साथ बृहत सरसफाई कार्यक्रम आयोजना गर्न लागिएको हो । 

कोशी राजमार्ग अन्तरगत सर्दु जलाधार क्षेत्रमा दिशा, पिसाब र फोहोर नगर्न पनि सचेत गराईने मेयर राईले बताए । छलफलमा धरान १३ स्थित बेसक्याम्पमा शौचालयसहितको रिफ्रेसमेन्ट सेन्टर बनाउन पहल गर्ने मेयर राईले जानकारी दिएका थिए । धरानदेखि उत्तरी भेगमा चल्ने बसहरुमा टाईमकार्ड लागू गराउन पनि उपमहानगरपालिकाले पहल गर्ने उनले बताए ।