धरान: दुई दिनअघि बुधबारदेखि हराई रहेकी उत्तरी मोरङको लेटाङ नगरपालिका ८ की एक बालिकाको शव गाडेको अवस्थामा भेटिएको छ । 

एघार बर्षीया करुणा राईको शव आज बिहान खाल्डोमा गाडेको अवस्थामा भेटिएको हो । बालिकाको बलात्कार गरि हत्या गरेको स्थानीयबासीले आशंका गरेका छन् । शिवशक्ति वन सामुदायिक वन क्षेत्रमा गाडेको अवस्थामा बालिकाको शव भेटिएपछि स्थानीयबासीले आन्दोलनसमेत गरिरहेका छन् । दोषीलाई आजै सार्वजनिक गर्नुपर्ने माग स्थानीयबासीको माग छ । 

मोरङ जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी मञ्जिल मुकारुङका अनुसार अवरोध हटाएर शव पोष्टर्माटम गर्न लैजानको लागि सबै पक्षसँग समन्वय भइरहेको छ । उनले भने, ‘स्थानीयले शव लैजान अवरोध गरिरहेका छन्, एसपी साब आफै घटनास्थलमा पुग्नुभएको छ, र समन्वय भइरहेको छ ।’

डिएसपी मुकारुङका अनुसार ११ गते दिउँसो करिब साढे ४ बजेतिर बालिका हराएको भन्ने जानकारी प्रहरीले पाएको थियो । त्यसपछि खोजी कार्य जारीराखे पनि फेला परेको थिएन । खोजीकै क्रममा आज बिहान करिब ९ बजेतिर खाल्डोमा गाडेको भन्ने खुलेपछि शव भेटिएको पनि डिएसपी मुकारुङले बताए । ‘शंकास्पद २ जना समातिएको छ, थप अनुसन्धान हुदैछ,’उनले भने,‘पोष्टमार्टमको लागि पठाउन पीडित परिवार, स्थानीय र पालिका प्रतिनिधिहरुसँग कुरा हुदैछ ।’