धरान: चार बर्षअघि स्थापना भएको माया घर नेपालले मानसिक रोगी, असहाय, हिंसा पीडित तथा सडक मानवहरुको उद्दार र सेवामा सक्रिय छ । 

इटहरी २ स्थित माया घरबाट हालसम्म ४ हजार बढीको पुनस्थापना तथा पारिवारिक मिलन भइसकेकोछ । अहिले पनि ११५ जनाले आश्रय लिइरहेका छन् । माया घरमा आश्रितहरु हिंसा पीडित, असहाय, मानसिक रोगी तथा सडकमा आश्रित सडक मानवहरु हुन भएकोले उनीहरुलाई खाना, लत्ता कपडामा मात्र होइन, स्वास्थ्य उपचारमा पनि अत्यधिक खर्च हुने गरेको छ । माया घरकी अध्यक्ष राधिका दासीका अनुसार मासिक ७ देखि ८ लाख रुपैया खर्च हुन्छ । अहिलेसम्म स्थानीय सरकार, विभिन्न संघसंस्था तथा दाता व्यक्तिहरुको सहयोगमा खर्चको व्यवस्थापन हुदै आएको छ । 

सञ्चलन एवं व्यवस्थापन खर्च सधै सहयोग जुटाएर गर्नु पर्दा धेरै समस्या हुन्छ । स्थानीय सरकारबाट आउने सहयोग पर्याप्त छैन । त्यसैले आम्दानीको स्रोत दिगो बनाउन र आर्थिक संकटबाट मुक्त गर्न १ करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य माय घरले बनाएको छ । यसैको लागि माया घर नेपालले यही फागुन २१ गतेदेखि २८ गतेसम्म श्रीमद् भागवत जीवन दर्शन ज्ञान महायज्ञ आयोजना गर्ने भएकोछ । 

Radhika-dasi

संस्थाले बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै माया घरलाई थप व्यवस्थित बनाउन पहिलो चरणमा १ करोड रुपैया संकलन गर्ने र उक्त रकमको ब्याजबाट आश्रितहरुको सेवा गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागेको जानकारी दिएको छ । महायज्ञमा अध्यक्ष राधिका दासीले नै पुराण वाचन गर्नेछिन् । फागुन २१ गते इटहरी २ आयुर्वेदिक टोलस्थित मायाघर रहेको स्थानमा महायज्ञको औपचारिक उद्घाटन हुने पनि अध्यक्ष दासीले जानकारी दिइन् । एक सातासम्म दैनिक कथा वाचन तथा जीवन दर्शन सम्बन्धी कार्यक्रम हुने पनि उनले बताइन् । 

अध्यक्ष दासीका अनुसार माया घर के हो भनेर बुझाउनको लागि पनि महायज्ञ आयोजना गरिएको हो । साथै, दायित्व बोध गराउने पनि उद्देश्य रहेको उनले बताइन् । ‘१ व्यक्तिले दिनको १ रुपैया सहयोग र १ मुठी चामल माया घरको लागि छुट्याउने हो भने हाम्रो अभियान सार्थक हुन्छ,’उनले भनिन् ।

mayaghar2

महायज्ञ कार्यक्रमको लागि धरानका संयोजकमा होप धरानका अध्यक्ष निश्चल मोहन पलिखेलाई जिम्मेवारी दिइएको छ भने कलश यात्राको संयाजनको जिम्मा दुर्गा काफ्लेलाई दिइएको छ । फागुन २१ गते बिहान ८ बजे इटहरीबाट पकली, चतरा हुदै सप्तकोशीमा जल उठाएर धरान हुदै यज्ञस्थलमा सहभागी हुने आयोजकले जनाएकोछ । धरानका संयोजक पलिखेले शनिबार बिहान ११ बजे सिद्धि नेवाः परिषदबाट १०८ वटा कलश यात्राले धरान नगर परिक्रमा गरिनेछ । इच्छुकहरुलाई यज्ञस्थलसम्म लैजान निःशुल्क बसको पनि व्यवस्था गर्ने उनले बताए । कलय यात्राकी संयोजक काफ्लेले धरानका सबै संघसंस्थाहरुलाई कलश यात्रामा सहभागीताको लागि पत्राचार र पहल गरिरहेको बताइन् । 

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋर्षि राई, नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साहले मन्तव्य व्यक्त गर्दै माया घर नेपालले मानवीय सेवामा पुर्याएको योगदानको प्रसंशा गरेका थिए । माया घरको ६ कट्ठा जग्गामा आश्रयस्थल बनाइएको छ । संस्थालाई दीर्घकालिनरुपमा व्यवस्थापन गर्न लगभग ४ करोडको भवन स्टेमेट पनि गरिएको छ । यसअघि प्रदेश सरकारबाट प्राप्त भएको ३० लाख बजेटबाट कम्पाउण्ड वाल निर्माण भएको थियो ।

भिडियो:

mayaghar4

mayaghar5