धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पार्किङस्थलबाट प्रायः मोटरसाइकल चोरी भइरहन्छ । 

विरामी लिएर आउने आफन्त, वार्डमा कुरुवा बसेका विरामीका आफन्तको मात्र होइन, स्वास्थ्यकर्मीहरुकै पनि मोटरसाइकल हराइरहन्छन् । प्रतिष्ठानले सुरक्षाको लागि निजी कम्पनीलाई जिम्मा दिएपनि अनेक उपाय रचेर चोरले मोटरसाइकल चोरी गर्न छोडेको छैन् ।

मोटरसाइकल चोरहरु सक्रिय हुन थालेपछि आज बिहानै करिब २ बजे सेक्युरिटी कम्पनीका सुरक्षा अधिकारीहरु गस्तीमा निस्किए । उनीहरु गाइनोको पार्किङमा पुग्दा केही युवाहरु मोटरसाइकलको तार काट्दै गरेको भेटिए । ती मध्ये १ जनालाई सेक्युरिटी गार्डहरुले नियन्त्रणमा लिन सफल भए पनि अन्य ३ जना जति युवाहरु फरार भए ।

पक्राउ परेका युवा धरान १७ का शुभम राई हुन् । उनीहरुले ३ वटा मोटरसाइकलको तार काटिसकेको र थप एउटाको काट्दै गरेको अवस्थामा भेटिएको सेक्युरिटी कम्पनीका धनबहादुर राई (पचासी)ले जानकारी दिए । उनका अनुसार तार काटेपछि चाबी विना नै मोटरसाइकल स्टार्ट गर्न सकिन्छ । पक्राउ परेका शुभमलाई मोटरसाइकलसहित ईलाका प्रहरी कार्यालय धरानमा बुझाए पनि मोटरसाइकल धनीले उजुरी दिन नमानेको उनले बताए । ‘मोटरसाइकल वालाले उजुरी दिन मानेन । तर हामीले नै कम्पनीकोतर्फबाट आवश्यक कारबाही गर्न भनेर प्रहरीलाई पत्राचार गरेका छौ,’उनले भने । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले निन्त्रणमा लिएको युवाबारे अनुसन्धान भइरहेको बताए ।