इटहरी: सुनसरीको इटहरी उपमहानगरपालिकाको पश्चिम लाईनमा सञ्चालित एपेक्स हस्पिटलमा ४ बर्षीय बालकको उपचारको क्रममा मृत्यु भएपछि तनाव सृर्जना भएको छ । 

तरहराका ४ बर्षीय सन्देश साहको उपचारको क्रममा मृत्यु भएपछि आफन्तजनहरु आक्रोशित भएका छन् । उनीहरुले उपचारमा लापरवाही भएको दाबी गर्दै सम्बन्धित चिकित्सकललाई कारबाही हुनुपर्ने माग गरेका छन् । मृतकका आफन्तजनहरुले सडक अवरुद्धसमेत गरेका छन् । हस्पिटल क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने सडक खुलाउने प्रयास पनि भइरहेको छ । 

मृतक बालकलाई हिजो बुधबार बिहानबाट बान्ता भएपछि परिवारले शुरुमा एक मेडिकलमा लगेका थिए । त्यहाँबाट थप उपचारको लागि एपेक्स पुगेका थिए । ल्याब परीक्षण पछि चिकित्सकले फुड पोइजनिङ्ग भन्दै नआत्तिन भने पनि आज (बिहिबार) बिहान मृत्यु भएपछि परिवारजन पीडामा छन् भने लापरवाही भएको भन्दै आक्रोशित पनि छन् । 

परिवारजनका अनुसार उपचारमा लापरवाहीले सन्देशको ज्यान जोखिममा परेपछि राती २ बजेतिर हस्पिटलले वीपी प्रतिष्ठान धरानमा रिफर गरिदिएको थियो । धरान लैजादै गर्दा सन्देशको बाटोमा नै ज्यान गएको परिवारजनको भनाई छ । एपेक्स प्रशासनले भने बच्चा उपचारमा आउदा नै अवस्था जटिल भएको जनाएकोछ ।