धरान: ईलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी नरेन्द्र कुँवर फागुन महिनाको प्रदेशभरिकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । 

गम्भीर प्रकृतिको अपराधको अनुसन्धान गरि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएका डिएसपी कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । डिएसपी कुँवरले धरान ४ स्थित कोशी राजमार्ग जंगलमा पुरूष मानिसको टाउको, जिउ र खुट्टाको भाग छुट्टा छुट्टै झोलामा हालेर फालेको घटनाको उत्कृष्ट अनुसन्धान गरेको भन्दै प्रदेश प्रहरीले पुरस्कृत गरेको हो । उक्त घटनामा डिएसपी कुँवरले मृतकको पहिचान खुलाउन सफल भएर संलग्न प्रतिवादीहरुलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याएकोले सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरीले जनाएको छ । 

hotel2

यस्तै, धरान १८ स्थित एक होटलमा महिलाको हत्या गरि फरार भएका व्यक्तिलाई पनि पहिचान गरेर पक्राउ गरि डिएसपी कुँवरले कानुनी दायरामा ल्याउन सफल भएका थिए । आम सर्वसाधारण नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउन डिएसपी कुँवरको नेतृत्वमा प्रशंसनिय कार्य भएको भन्दै उनलाई फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको प्रदेश प्रहरीले जनाएको छ । 

प्रहरीहरुको मनोवल उच्च बनाउन तथा कार्यको उचित मूल्याङकन गर्दै प्रदेश प्रहरी कार्यालयले १ नम्बर प्रदेश भरीका प्रहरीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेर उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय 'क'स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिने गरिएको छ ।