धरान: उत्तरी मोरङको लेटाङ नगरपालिका हिजो दिनभर तनावग्रस्त भयो भने राती झडपको क्रममा एक महिला प्रहरीको मृत्यु भएको छ । 

होली पर्वको दिन लेटाङ ५, खेरुवास्थित शिक्षा विकास माविको शिक्षकले घरमा पुगेर छात्रालाई यौन दुव्र्यवहार गरेको बिषयमा आइतबार दिउँसो स्कुल तनावग्रस्त बन्यो । विद्यार्थी, गाउँले अभिभावकहरुले आरोपित शिक्षक मनोज पौडेललाई आक्रमण गर्न खोजेपछि तनावग्रस्त भएको थियो । आक्रोशित विद्यार्थीहरुले आरोपित शिक्षकसहित अन्य शिक्षकहरुलाई पनि बन्धक झैं बनाए पछि प्रहरी आएर छुटाउने र आरोपित शिक्षकलाई कानुनी कारबाहीको लागि लैजाने प्रयास गरेका थिए । त्यसक्रममा विद्यार्थी तथा गाउँलेहरुले शिक्षकको मोटरसाइकल जलाइदिएका थिए भने एम्बुलेन्सलगायतमा तोडफोडसमेत गरे ।

साँझ पर्दै गएपछि भने विद्यालय क्षेत्र झन् तनावग्रस्त बन्यो । प्रहरीले आरोपित शिक्षक पौडेललाई सुरक्षित प्रहरी कार्यालय लैजाने क्रममा दोहोरो झडप भएको थियो । गाउँलेहरुले लखेटेर आक्रमण गर्दा अध्यारोमा महिला प्रहरी जवान उर्मिला श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि लगिए पनि मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता शरदकुमार पोखरेलले जानकारी दिए ।

letang-jhadap1

उनका अनुसार मृतक प्रहरी जवानको घाँटीमा दाग भएकोले राती झडपको बेला धारिलो हतियार प्रयोग भएको अनुमान गरिएको छ । उनले भने,‘फागु खेल्ने क्रममा छात्रालाई दुव्र्यवहार भएको बिषयमा स्कुलमा राती झडप भयो । अनियन्त्रित भिडले ढुंगामुढा पनि गरेको थियो । प्रहरीले धेरै क्षति नहोस् भनेर संयमता अपनाएको थियो, तर महिला प्रहरी जवानको ज्यान गएको छ ।’

सहायक प्रजिअ पोखरेलका अनुसार ८ सयदेखि एक हजारसम्म मानिसहरु भेला भएका थिए । प्रहरीले स्कुलभित्रै बन्धक बनाइएका आरोपित शिक्षकसहित अन्यलाई मुक्त गराउने र दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाउदा पनि उत्तेजित भिडले कुरा नसुनेको र राती दुःखद् घटना भएको पोखरेलले बताए ।

कर्फ्यु आदेश जारी

एक महिला प्रहरीको ज्यान जाने गरि हिजो राती झडप भए पनि लेटाङमा आज बिहानै ७ बजेदेखि अर्को आदेश नआएसम्म कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु जारी गरेको सहायक प्रजिअ पोखरेलले बताए । 

दक्षिणमा लेटाङ नगरपालिकाको वडा नं ३ र ४ को गंगे चोक र कमलपुर क्षेत्र, वडा नं ५ को सबै क्षेत्र, उत्तरमा वडा नं ६ को कार्यालय क्षेत्र, पुर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको मोरङ प्रशासनले जनाएको छ । 

letang5

letang-jhadap4

letang-jhadap2