धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले इजाजत प्राप्त गरि राखिएका हातहतियारहरु फिर्ता पाउने गरि प्रहरीमा बुझाउन सुचना जारी गरेको छ ।

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासनले हतियार प्रहरीलाई बुझाउन सर्वसाधारणमा आग्रह गरेको हो । सर्वसाधारण नागरिकले प्रशासनसँग इजाजत लिएर आफुसँग हतियार राखेका हुन्छन् । ती हतियारहरु बैशाख ३० गतेको निर्वाचन सम्पन्न भएपछि पुनः फिर्ता गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

प्रशासनले हिजो बुधबार एक सुचना जारी गर्दै जिल्लाभित्र इजाजतप्राप्त हतियारहरु नजिकको प्रहरी ईकाईमार्फत जिल्ला प्रहरीमा १५ दिनभित्र बुझाउन भनेको छ । निर्वाचनमा अवैध हतियार मात्र नभै वैधरुपमा राखिएका हतियार पनि सुरक्षा चुनौती हुनसक्ने भएकोले प्रशासनले सर्वसाधारणसँग इजाजत प्राप्त हतियार पनि संकलन गर्न लागेको हो । 

cdo-notice