उदयपुर: उदयपुर जिल्लाको बेलका नगरपालिकामा विद्यालय जादै गरेकी एक बालिकाको हत्या भएको छ । 

एसईईको तयारी गरिरहेकी बेलका ३ बुद्धचोककी १५ बर्षीया कविता सुनुवारको हत्या भएको हो । उनलाई जसोधा खोलामा हत्या गरिएको अवस्थामा आज बिहान शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालय रामपुरका अनुसार मृतक बालिका बिहान ४ बजे नै घरबाट विद्यालय हिडेकी थिइन् । उनी एसईई तयारीको लागि कोचिंग पढ्न बिहानै गएकी थिइन् । उनको शव बिहान ७ बजेतिर भेटिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएको थियो । 

मृतक बालिका कोशी जनता माविमा कक्षा १० मा अध्ययनरत थिइन् । मृतकको टाउकोमा चोट देखिएकोले उनको कुटपिट गरी हत्या गरेको अनुमान गरिएको छ ।  प्रहरीले हत्याको अनुसन्धान शुरु गरिसकेको छ । स्थानीय र विद्यार्थीहरुले दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन गरेका छन् ।