धरान: राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङ्गशिलाले सि.स.४७ जुनियर डिभिजन तालिम पहिलो चरणको साँस्कृतिक तथा दिक्षान्त कवाज कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । 

उक्त तालिममा लिटल बुद्ध माबि ताप्लेजुङकी क्याडेट छात्रा १६ बर्षिया सिक्कुम इवासाम लिम्बु सर्वोत्कृष्ट भएकी छिन् भने छात्रतर्फ जालपा माबि नुनथला खोटाङका १७ बर्षीय विनोद तामाङ उत्कृष्ट भएका छन् । त्यसै गरी बेस्ट स्पीकर क्याडेट बिद्या बर्दन ईङलिस स्कुल पाँचथरका क्याडेट १८ बर्षीया नेहा राई भएकी छिन् । 

यस बर्षको बार्षिक सामूहिक क्याम्पको अवधिमा विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट प्रर्दशन गर्दै विभिन्न मुल्याङ्कनहरु मार्फत बेस्ट प्लाटुन  लिटल बुद्ध माध्यमिक बिद्यालय ताप्लेजुङ सफल भएको छ । उक्त बिद्यालयका शिक्षक तथा उपस्थित अभिभावकहरुलाई प्रशंसा पत्रसंगै ट्रर्फी प्रदान गरेका छन् । अन्य बिद्यालयहरुलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियो । 

आजका युवा भोलीका कर्णधार हुन्, अनुशासन नै राष्ट्रसेवाको मूल जग हो भन्ने आदर्श वाक्यलाई आत्मसात गरी अनुशासन, वफादारी, इमान्दारी र युवा वर्गमा नेतृत्व क्षमता विकास गर्दै राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङ्गशिला प्रमुख सेनानी बिमल केसीले जानकारी दिए । नेपाल सरकारले यो राष्ट्रिय कार्यक्रम तर्जुमा गरी २०२४ सालदेखि नेपाली सेनालाई जिम्मेवारी सुम्पिएको थियो । 

yangshila1

तालिमका दिक्षित विद्यार्थीहरुलाई सम्बोधन गर्दै नेपाली सेनाको पूर्वी कमाण्ड सेनापति उपरथी सहदेव खडकाले युवाहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले राष्ट्रिय सेवा दलको स्थापना भएको बताए । उनले राष्ट्र सेवा, अनुशासन, ज्ञान र विवेक जस्ता विभिन्न पक्षमा विकास गर्न अहम भूमिका खेल्ने तालिममा छनौट भई तालिम सम्पन्न गर्ने क्याडेट छात्रा, छत्रालाई बाधाई समेत दिए । उपरथी खडकाले छोटो समयमा क्याडेट छात्र, छात्राले देखाएको अनुशासन, लगनशीलता, इच्छा शक्ति, तालिमप्रतिको अभिरुची तथा कडा परिश्रमको कारण उच्चस्तरको कवाज प्रदर्शन भएको भन्दै खुशीसमेत ब्यक्त गरे । 

तालिममा छात्रछात्राले हाँसिल गरेका सामान्य सैनिक कला, विपद जोखिम न्यूनिकरण, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता,सामाजिक उत्तरदायित्व तथा अनुशासन जस्ता विविध सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले भविष्यमा आउन सक्ने चुनौतिहरुलाई सहज रुपमा सामना गर्न सहयोगी हुने पनि उपरथी खड्काले धारणा व्यक्त गरे । उनले तालिम पश्चात निःस्वार्थ सेवा भावबाट समाज र राष्टको सेवामा समर्पित हुन पनि छात्रछात्राहरुलाई आग्रह गरेका थिए । 

दिक्षान्त समारोहमा प्रदेश नं १ बाट ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, धनकुटा, उदयपुर, प्रदेश नं. २ बाट रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र सिराहा तथा प्रदेश नं. ३ बाट चितवन, मकवानपुरका गरी १५ वटा माध्यामिक विद्यालयहरुका कुल ५३४ जना विद्यार्थीहरुको सहभागिता रहको थियो । यस प्रकारको तालिम मोरङ्गको याङ्गशिला, महोत्तरको किसान नगर, नवलपुरको हात्तीखोर र बाँकेको कोहपुरमा समेत सञ्चालन हुदै आएको छ ।