धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबिबिएस अध्ययनरत एक विद्यार्थी विराटनगरबाट मानव हड्डीसहित पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भारतको विहार राज्यको पूर्णिया जिल्लास्थित पूर्णिया ग्रामपञ्चायतका २६ वर्षीय आदित्य सिन्हा हुन् । उनलाई मानवको हड्डीसहित सशस्त्र प्रहरीले विराटनगरको भारतीयस सिमावर्ती क्षेत्रबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । उनी वीपी प्रतिष्ठानमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जनाएको छ । मानव अंगसहित पक्राउ परेका सिन्हलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

उनको साथबाट सन् २०१६ मा प्रतिष्ठानले जारी गरेको परिचय पत्र भेटिएको छ । उनी अध्ययन सकेर घर फर्कने क्रममा कार्टुनमा मानव कंकाल लुकाएर लैजादै गर्दा पक्राउ परेका हुन् । उनको साथबाट एउटा मानिसको सिङ्गो शरीरको हड्डी बरामद भएको प्रहरीले जनाएको छ । कार्टुनमा मानव खप्पर, बंगारा, घाँटी र हिपको हड्डी १-१ वटा, काँधको हड्डी २, खुट्टाको नली हड्डी ३, हातको हड्डी ६, करङ ७, ढाड, औंला र कुर्कुच्चाको हड्डी ८-८ वटा बरामद भएको छ । पक्राउ परेका सिह्नाले अध्ययनका लागि आफुले पाएको मानव कङ्काल पढाई सकेर घर फर्कने क्रममा साथमा लिएर गएको प्रहरीसमक्ष वयान दिएका छन् ।