धरान: धरान १ लक्ष्मी चोकस्थित पुरानो कपडा संकलन गरेर रुवा बनाउन राखिएको गोदाममा आगलागी भएको छ । 

आज (मंगलबार ) साँझ करिब साढे ६ बजे सरोज आचार्यको घरमा सञ्चालनमा रहेको रुवा उद्योगको गोदाममा आगलागी भएको हो । ईलाका प्रहरी कार्यालय धरानका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागी ७ बजेतिर नियन्त्रणमा आएको पनि प्रहरीले जनाएको छ । 

आगलागीबाट १३ लाख बढीको क्षति भएको अनुमान गरिएको छ । प्रहरीका अनुसार पुरानो कपडा पेलेर रुवा बनाउने २ वटा मेशिन पनि क्षति भएको छ । जस्ता पाताले बेरेको र छाना पनि जस्ता पाता भएको गोदाममा पुराना कपडाको टुक्राहरु संकलन गरेर राखिएको थियो ।