धरान: कोशी राजमार्गस्थित धरान ४ भेडेटार नजिकमा बस र टेम्पो एकआपसमा जुध्दा टेम्पो चालकको घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार आज बिहान ६ बजेर ५० मिनेटमा उक्त दुर्घटना भएको हो । धरानबाट उत्तर (भेडेटारतर्फ) गइरहेको को १ ख ४४८० नम्बरको बस र भेडेटारबाट धरानतर्फ आइरहेको को २ ह ७०४१ नम्बरको टेम्पो एकआपसमा जुधेको थियो । 

accid1

उक्त दुर्घटनामा टेम्पो चालक धरान १७ निवासी खड्ग बिश्वकर्माको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पुरानो ठेगाना सुनसरीको भरौल भएपनि हाल धरान १७ मा बस्दै आएको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायले जानकारी दिए । सोही टेम्पोमा सवार ताप्लेजुङ घर भएकी १५ बर्षीया उषा लिम्बु पनि घाइते छिन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । बस र चालक गोविन्द कटवाललाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको जनाएको छ ।