धरान: किरात राई समुदायले धरानमा साकेला उभौली धुमधामले मनाउने तयारी गरेका छन् । 

किरात राई यायोक्खा सुनसरीले शनिबार पत्रकार सम्मेलन गर्दै बैशाखे पुर्णिमा अर्थात जेठ २ गतेदेखि १४ गतेसम्म विविध कार्यक्रमहरु आयोजना गरी साकेला उभौली मनाउने जानकारी दिएको हो । यायोक्खा अध्यक्ष राजेन्द्र राईका अनुसार बैशाखे पुर्णिमाको दिनदेखि विधिवतरुपमा ढोल झ्याम्टा फुकाएर करिब १५ दिन (औशी)सम्म आँगनमा स्याली गाडेर धुमधामसँग साकेला सिली नाचेर यो चाडलाई मनाउने गरिन्छ । 

kiraya-sedul

राईहरुले समय साल राम्रो होस्, अन्नवाली सप्रियोस, सह बसोस् र अनिकाल नलागोस्, सबै जीव प्राणीहरुमा सुख शान्ति छाओस् भन्दै सिमेभुमे पूजा गरी साकेला नाचेर नयाँ अन्नबाली लगाउने चाडलाई नै साकेला उभौली भनिन्छ । सुनसरीमा साकेला उभौलीको अवसरमा यायोक्खाले साकेला सिली संरक्षण, संर्वद्धन, विकास र मौलिकतालाई बचाई राख्न धरानमा हरेक बर्ष प्राकसस्तरीय प्रतियोगितात्मक साकेला शिली प्रर्दशनी आयोजना गर्दै आइरहेको छ । 

यायोक्खा अध्यक्ष राईका अनुसार जेठ २ गतेदेखि विभिन्न ठाउँ तथा प्राकसहरुमा साकेला सिली प्रर्दशनी कार्यक्रम हुनेछ भने जेठ १४ गते धरान १७ स्थित साकेला पार्कमा वडा प्रारम्भिक कार्यसमिति स्तरीय प्रतियोगितात्मक साकेला शिली प्रर्दशनी कार्यक्रम हुनेछ । प्रतियोगितात्मक सिली प्रर्दशनीमा प्रथम हुने टोलीले नगद ३० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले नगद २० हजार पुरस्कार पाउनेछ । यस्तै, विभिन्न विधामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीले नगद ७ हजार, ५ हजार र ३ हजार क्रमशः पाउने पनि सचिव नविन राईले जानकारी दिए ।