धरान: सेउती खोलाको बगरमा हत्या गरिएको अवस्थामा भेटिएका धरान ११ का सन्दिप लम्जेलको हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने दुवै नाबालक छन् ।

ईलाका प्रहरी कार्यालय धरानका अनुसार जेठ १२ गते बिहानै धरान ५ तल्लो देउरालीस्थित सुन्दरी बस्ती छेउ सन्दिपको लाश भेटिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा उनको हत्यामा संलग्न धनकुटाको साँगुरीगढी ८ घर भई बगरकोटस्थित भेटघाट सेकुवा कर्नरमा कार्यरत १७ बर्षीय नाबालकलाई पक्राउ गरेको छ । यस्तै, धरान १५ बगरबोटका १३ बर्षीय नाबालक पनि उक्त घटनामा संलग्न रहेको र उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भेटघाट सेकुवा कर्नरमा कार्यरत नाबालकलाई सन्दिपले फोन गरेर शारीरिक सम्बन्ध राख्ने केटी खोजी देउ भन्दै धम्की र गालीगलौज गरेका थिए । सोही बिषयलाई रिसइबी लिएर उनले होटलको २ थान छुरी बोकेर केटी भेटाउने भन्दै लगेका थिए । खोरिया बस्ती सेउती खोलाको पश्चिम भागसम्म पुगेपछि मोटरसाइकल रोक्न लगाएर बगरकोटका नाबालकसमेत मिलेर सन्दिपको पेट, ढाढ, कुम, घाँटीको अगाडि भागमा निरन्तर छुरा प्रहार गरेको र घाँटीको पछाडि गर्धनको भागमा समेत छुराले रेटेर मारे पश्चात अनुहार, टाउको पनि ढुंगाले किच्याएर लाश घोप्टो पारेर हिडेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

दुवै जना नाबालक भएकोले उनीहरुको परिचय प्रहरीले गोप्य राखेको छ । दुवैलाई सोमबार सुनसरी जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।