नाम: धरान १३ स्थित गुरुकुल प्रतिष्ठानले सञ्चालन गरेको दुव्यर्सनी उपचार तथा सुधार केन्द्रमा एक जनाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय धरानका अनुसार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ५ घर भएका ४० बर्षीय सन्तोष दाहालको मृत्यु भएको हो । उनी सुतेको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको पनि जानकारी दिएको छ ।

मृतकको परिवार झापाको दमकमा बस्दै आएको छ । मादक पदार्थ अत्यधिक सेवन गर्ने भएकोले उनलाई परिवारले नै सुधार केन्द्रमा भर्ना गरेको सई दिपक कटवालले जानकारी दिए । परिवारले सिसिटिभी फुटेज पनि हेरेको र सोही आधारमा पोष्टमार्टम प्रक्रिया अघि बढाउन जाहेरी पनि दिइसकेको उनले बताए । ‘सिसिटिभी फुटेज पनि परिवारले हेरिसकेको छ । श्रीमति आएर पोष्टमार्टमको लागि जाहेरी दिनुभएको छ,’सई कटवालले भने ।

वडा नं १३ का वडाअध्यक्ष नेत्र काफ्लेले पनि परिवारले नै दमकबाट ल्याएर उपचारको लागि भर्ना गरेको आफुले जानकारी पाएको बताए । उनले पनि दाहालको मृत्युमा कुनै शंकास्पद अवस्था नदेखिएको बताए ।