धरान: धरान ५ मा आमासँग बस्दै आएकी १४ बर्षीया बालिका एक सातादेखि सम्पर्कविहिन भएकी छिन् । 

बुबालाई भेट्न पथरीस्थित ठुलो बुबाको घर गएकी छोरी रसिका लिम्बु सम्पर्कविहिन भएको आमा अर्पना चेम्जोङ लिम्बको भनाई छ । रसिका जेठ १२ गते धरान जान्छु भनेर गाडी चढेर हिडेको तर अहिलेसम्म घर नआएको र सम्पर्कविहिन पनि भएको आमा अर्पनाले बताइन् । उनले प्रहरीमा छोरीको खोजतलासको लागि निवेदन पनि दिएकी छिन् ।  । 

अर्पना र श्रीमान् हस्तबहादुर विगत १०–१२ वर्षदेखि छुट्टिएर अलग अलग बस्दै आएका छन् । छोरी रसिका भने आमासँग धरान ५ मा बस्ने गरेकी थिइन् । गत फागुन १५ गते बुवा हस्तबहादुरले जन्मदर्ता ल्याइदिए पछि छोरी बुवासँग पनि जाने गरेको आमा अर्पनाले बताइन् । स्कुटर किनिदिने, हजुरआमाको सुनको हार दिने प्रलोभन देखाएर छोरीलाई आफुदेखि टाढा लगेको उनको भनाई छ । छोरी रसिका धरान–१९ स्थित आवर होम बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययरत थिइन् । फाइनल परीक्षा दिन पनि बुबाले धरान नपठाएको र आफुले पटक पटक सम्पर्क गर्दा छोरीसँग फोनमा बोल्न नदिएको उनको आरोप छ । 

अर्पना र हस्तबहादुर विवाह गरेको केही बर्षमा नै छुट्टिएका थिए । छोरी लिएर उनी माइतमा बस्दै आएकी थिइन् । गत फागुन १५ गते छोरीको जन्मदर्ता लिएर एक्कासी हस्तबहादुर आएका थिए । त्यसपछि छोरी रसिका बुबा हस्तबहादुरकोमा आउ जाउ गरिरहेकी थिइन् । हस्तबहादुर कान्छी श्रीमतीसँग लारुम्बामा बस्छन् । उनको दाजु पथरीमा छन् । बुवालाई भेट्न रसिका पथरीस्थित ठूलो बुवाको घरमा जाने गरेकी थिइन् । फाइनल परीक्षाको लागि छोरी लिन पठाउदा हस्तबहादुरले राती नै पथरीबाट लारुम्बा लगेको अर्पनाको गुनासो छ ।

ठुलोबुबाले भने बैशाख १३ गते रसिकाको जन्मदिन भएकोले धरानमा मनाउने भनेर १२ गते पथरीबाट गाडी चढेको बताउछन् । छोरी बेपत्ता भएपछि खोजी गरिदिन इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएको पनि अर्पनाले बताइन् । 

 rasika1