धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक जना डाक्टरलाई भेट्न आएकी युवतीले झुण्डिएर आत्महत्याको प्रयास गरेकी छिन् ।

पर्साको वीरगञ्ज घर भएकी २७ बर्षीया प्रकृति सुवेदीले धरान १० स्थित जनहित होटलमा झुण्डिएर आत्महत्या प्रयास गरेकी हुन् । वीरगञ्ज घर भएपनि उनी काठमाण्डौंमा होस्टलमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार युवती काठमाण्डौंमा एक कन्सल्टेन्सीमा कार्यरत भएको खुलेको छ ।

युवती प्रतिष्ठानमा कार्यरत डा.करण यादवलाई भेट्न हिजो मंगलबार धरान आएको खुलेको छ । डा.यादवले नै उनलाई होटल जनहितमा लगेर राखेका थिए । आज दिउँसो करिब १ बजेतिर ती युवतीले कोठाको तन्नाले पाशो लगाएर आत्महत्याको प्रयास गरेकी थिइन् । गम्भीर अवस्थामा रहेकी युवतीको प्रतिष्ठानकै आइसियुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक रायले डा.यादवसँग फोन सम्पर्क भएर नै ती युवती धरान आएको पाइएको बताए । घटनाबारे अनुसन्धानको क्रममा डा.यादवलाई सोधपुछको लागि प्रहरी कार्यालयमा राखिएको छ । ‘दुवैको फोन कन्ट्याक्ट भएको देखिएकोले सोधपुछको लागि ल्याएका छौं, अनुसन्धान भइरहेको छ,’रायले भने,‘लेडिजको स्वास्थ्य गम्भीर छ, आइसियुमा उपचार भइरहेको छ । आफन्तहरुलाई खबर गरेका छौं, आउदैछन् ।’