धरान: ईलाका प्रहरी कार्यालय धरानले पछिल्लो २ सातामा भएको विभिन्न घटनाहरुको अनुसन्धान तथा पक्राउ परेकाहरुबारे जानकारी दिएको छ । 

ईलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गरेर सफल अनुसन्धान भएको मुख्य घटनाहरुको जानकारी दिएको हो । डिएसपी बुद्ध श्रेष्ठका अनुसार जेठ ८ गते धरान १४ हात्तिसारस्थित केन्द्रीय प्रविधि क्याम्पसको क्वार्टरमा बस्दै आएकी ४६ बर्षीया शान्ता दाहाल सुवेदीलाई उनकै छोरा सौगात सुवेदीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । साथै, सौगात आफैले पनि घाटीमा चक्कुले काटेर घाइते भएका थिए । आमा शान्ताको न्युरो अस्पतालमा उपचारको लागि लगिएकोमा मृत्यु भएको थियो ।

उक्त घटनामा छोरा सौगातलाई पक्राउ गरि अनुसन्धान गरिएको र जिल्ला अदालतबाट जेठ ३० गते पुर्पक्षको लागि थुनामा गएको पनि डिएसपी श्रेष्ठले जानकारी दिए । यस्तै, जेठ १२ गते बिहान धरान ५ तल्लो देउरालीस्थित सुन्दर बस्ती नजिकै सेउती खोला बगरमा धरान ११ विष्णुचोकका ३१ बर्षीय सन्दिप लम्जेल मृत फेला परेका थिए । उक्त घटनाको अनुसन्धान गर्दै जादा लम्जेललाई हत्या गरेको तथ्य खुलेपछि सुक्ष्म अनुसन्धान गर्दा १७ बर्षीय र १३ बर्षका दुई नाबालकले हत्या गरेको खुलेको थियो । दुवैलाई नियन्त्रणमा लिइएको र अनुसन्धान पश्चात जिल्ला अदालतमा पेश भएपनि निर्णय हुन बाकी रहेको प्रहरीले जनाएको छ । 

dharan-police

 यसैगरि, जेठ ३१ गते धरान १० मुनाल चोकमा माया लिम्बुले सञ्चालन गरेको खाजा पसलमा खाजा खाइरहेको बेला रामशरण केसीलाई वडा ५ का २४ बर्षीय सविन लिम्बुले आक्रमण गरेका थिए । खुकुरीले टाउको तथा शरिरको विभिन्न भागमा प्रहार गरेर घाइते भएका लिम्बुलाई प्रहरीले तत्काल खुकुरीसहित नियन्त्रणमा लिएको र ज्यान मार्ने उद्योगमा मुद्दा अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

यसैगरी, जेठ २ गते बिहान साढे ११ बजे धरान १९ स्थित सलुट गोर्खा ट्रेनिङमा तालिम लिदै आएका मोरङको कानेपोखरी गाउपालिका ७ घर भएका ललित सुनुवार छुरा प्रहारबाट घाइते भएका थिए । उनलाई सोही ट्रेनिङ सेन्टरका ट्रेनर रिचर्ड तामाङलगायतका व्यक्तिहरुले सांघातिक आक्रमण गरी छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न रिचर्ड तामाङ, मौषम लिम्बु र दुई जना नाबालकलाई समेत पक्राउ गरी ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए ।

dharan-police1

करणी र करणी उद्योगमा २ पक्राउ

धरान प्रहरीले जेठ २८ गते बिहान १० बजे उदय सामुदायिक वनमा च्याउ खोज्न गएकी ५६ बर्षीया एक अपांग महिलालाई करणी प्रयास भएको थियो । उक्त घटनामा संलग्न वडा १७ संगम चोकमा बस्ने ४२ बर्षीय श्यामकुमार धामी पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई करणी गर्ने प्रयास गरेको अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरि, जेठ १२ गते धरान १६ जोरसखुवामा डेरा गरी बस्ने ३१ बर्षीया झड्केलो दाजुले नाबालिका १४ बर्षकी बहिनीलाई जर्बजस्ती करणी गरेको जाहेरी आएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । यो घटनाबारे असार २ गते मात्र जाहेरी परेको र उनलाई जर्बजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

काठ चोरीमा नाबालकसहित ८ जना पक्राउ

धरान प्रहरीले काठ चोरीमा एक जना नाबालकसहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जेठ १५ गते धरान ६ पानवारीका हस्तबहादुर श्रेष्ठको घरबाट ६ फिटको ४० थान र ५ फिटको ७२ थान सखुवाको चिरान काठ चोरी भएको थियो । उक्त चोरी भएको काठ खोजी गर्ने क्रममा ६ फिटको १२ थान र ५ फिटको २६ थान चिरान काठसहित चोरीमा संलग्न ८ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धरान ६ पानवारी बस्ने सुन्दर लिम्बु, भुवन सुयल, शिव मगर, विकास भन्ने भरत बलम्पाकी मगर, पदम बिसुंखे, विपिन लकान्द्री, विशाल कार्की र एक जना नाबालक रहेका छन् । उनीहरुलाई चोरी तथा डाका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको पनि डिएसपी श्रेष्ठले जानकारी दिए ।

मोटरसाइकल चोरीमा संलग्न पक्राउ

dharan-police2

प्रहरीका अनुसार जेठ २० गते वीपी प्रतिष्ठानको ट्रपिकल वार्ड भवन छेउमा पार्किङ गरेको प्रदेश १-०२-०४६ प ९१०९ नम्वरको १५० सि.सि.को मोटरसाइकल र प्रदेश १-०१-०१५ प ३९३ नम्वरको मोटरसाइलक चोरी गरेर लैजादै गर्दा २ जना रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउपालिका वडा नं. ५ बोधेका (हाल धरान १५ वरगाछीमा डेरा गरि बस्ने० बिजय भन्ने डिल्लिश्वर बिश्वकर्मा र सागुरीगढी गाउँपालिका ८ महाभारत घर भई ९हाल धरान ८ भोटेपुलमा डेरामा बस्ने अम्मर बराईली बिश्वकर्मा पक्राउ परेका छन् । उनीहरुलाई चोरी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरि, जेठ ३० गते राती करिब सवा १ बजे वीपी प्रतिष्ठानको गाइनो वार्डमा पार्किङ गरि राखेको मोटरसाइकल को.२८ प ८९८९ को तार काटेर हेण्डल लक तोडेर चोरी गरी लैजादै गर्दा एक जना त्रफाउ परेका छन् । प्रहरीले धनकुटा सहिदभुमी गाउँपालिका २ का २० बर्षीय अश्विन राईलाई पक्राउ गरेको छ । उनलाई चोरी मुद्दामा अनुसन्धान भइरहेको छ ।

यसैगरि, मोवाइल चोरीमा संलग्न धरान ११ मंगलबारे चोकका २० बर्षीय आशिष गुरुङ पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । जेठ ३१ गते धरान ५ देउरालीस्थित अभिकेशर विश्वकर्माको घरेलु हतियार निर्माण गर्ने आरनमा रहेको खुकुरी, गैती, काटा गैतीलगायत समान चोरीमा संलग्न वडा ५ का २२ बर्षीय म्याकिस लिम्बु, १९ बर्षीय भुपेन विक र २३ बर्षीय अर्जुन रसाइली पक्राउ परेका छन् । उनीहरुलाई पनि चोरी मुद्दामा अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए ।

सबैभन्दा बढी लागुऔषधमा पक्राउ

ईलाका प्रहरी कार्यालय धरानले चालु आर्थिक बर्षमा ७५ जना व्यक्तिलाई विभिन्न लागुऔषधसहित पक्राउ गरेको छ । ती मध्ये ३६ जना नियन्त्रण औषधीसहित पक्राउ गरेर थप अनुसन्धानको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाएको पनि डिएसपी श्रेष्ठले बताए । 

भिडियो: