खोटाङ: खोटाङको बाराहपोखरी गाउँपालिका ५ दुधकोशी नदीको बगरको खल्डोमा शंकास्पद अवस्थामा फेला परेकी वृद्धाको हत्या आरोपमा उनकै नाती पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका ३ का २९ बर्षीय हरी भन्ने निर बहादुर खड्का रहेका छन् । प्रहरीका अनुसार बैशाख ३१ गते दुधकोशी नदी किनारमा सडेको अवस्थामा वेवारिसे शव फेला परेको थियो । उक्त शवको पहिचान तथा अनुसन्धान गर्ने क्रममा खोटाङको जन्तेढुंगा गाउँपालिका ५ चिसापानी खुट्टा घर भई हाल इटहरी १६ बालग्राममा डेरा गरी बस्ने ७७ बर्षीया तुलसा खडका भएको खुलेको थियो । शवको पहिचान भएसँगै हत्यामा संलग्न रहेका नाती निर बहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।

हजुरआमाको हत्या गरी फरार रहेका खडकालाई १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई झापाको मेचीनगर नगरपालिका ६ काँकरभिट्टास्थित नेपाल भारत सिमा क्षेत्रमा लुकेर बसेको बेला असार ८ गते बिहान पक्राउ गरेको हो ।

पक्राउ परेका खडकाले हजुरआमा तुलसालाई स्थानिय तहको निर्वाचनमा भोट हाल्न भनि बैशाख २६ गते इटहरी बालग्रामबाट चिसापानी खोटाङ लिएर गएको खुलेको छ । त्यसक्रममा बराहपोखरी ५ स्थित दुधकोशी नदीको बगरमा हत्या गरी खाल्डोमा पुरेर उनी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । पक्राउ परेका खडकालाई कर्तब्य ज्यान सम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालत खोटाङबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।