धरान: आइतबार दिउँसो ४ बजेदेखि धरानको भानुचोकमा एक हुल मानिसहरु धर्नामा बसिरहेका थिए । धर्नामा बसेका केही व्यक्तिहरुले मेयर हर्क साम्पाङ शुक्रबार घण्टाघर परिसरमा लागुऔषधविरुद्ध प्रर्दशन गर्न आउदा नजिकै धर्नास्थलमा आएर मागपत्र नबुझेको भन्दै असन्तुष्टी पनि व्यक्त गरिरहेका थिए । 

ठिक त्यसैबेला आज (आइतबार) भने मेयर साम्पाङ धरानको ईलाका प्रहरी कार्यालयमा पुगेका थिए । उनले डिएसपी बुद्ध श्रेष्ठलाई भेटेर धर्नामा बसेकाहरुले उठाएको ४ जनाको हत्या वा मृत्युको घटनाबारे अनुसन्धानको प्रगति र वास्ताविकता बुझेका थिए । 

प्रहरी कार्यालयबाट बाहिरिदै गर्दा मेयर साम्पाङले सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै शुक्रबार लागुऔषधविरुद्धको जनचेतना कार्यक्रमको लागि गएको र त्यही आउनु न भन्दा पनि नआएको बताए । साथै, उपमहागनरपालिकामा पनि भेट्न नआउने र प्रहरी कार्यालयमा पनि यथार्थ बुझ्न नआएको उनले बताए । आफु प्रहरी कार्यालयमा ४ वटा घटनाबारे के भएको भनेर बुझ्न आएको बताए । आफुले प्रहरी प्रमुख (डिएसपी)बाट २ वटा घटनाको अनुसन्धान पुरा भइसकेको र २ वटा अनुसन्धानमा भएको जानकारी पाएको पनि बताए ।

साथै, मेयर साम्पाङले यथार्थ बुझ्न सम्बन्धित निकायमा पुग्न पनि धर्नामा बसेकाहरुलाई आग्रह गरे । नगरपालिकामा आएमा उनले आफुले जानकारी पाएको सत्य, तथ्य बुझाईदिने र प्रहरीसँग समन्वय गरिदिने पनि बताए । 

 किन भइरहेको छ धर्ना ?

विभिन्न समयमा मृत फेला परेका ४ जना व्यक्तिको परिवारसहित असार ११ गते शनिबारदेखि भानुचोकमा धर्ना कार्यक्रम भइरहेको छ । उनीहरुले दिउँसो ४ बजेदेखि ५ बजेसम्म धर्नामा बस्छन् । धर्ना कार्यक्रम राष्ट्रिय जनमुक्ति पार्टीको नेतृत्वमा भइरहेको हो । धर्नामा अन्य क्षेत्रीय तथा साना दलहरु पनि सहभागी छन् । 

धर्नामा बस्नेहरु धरान ४ स्थित वेदामे खहरे खोलामा २०७८ बैशाख पहिलो साता मृत भेटिएको प्रदिप सुब्बा, २०७८ साउन १३ गते आफ्नै घरको पानीट्यांकमा मृत भेटिएका धरान ५ का विनोद लिम्बुका परिवार छन् । 

यस्तै, २०ठ८ कार्तिकमा धरान २० खैरे खोलामा शव भेटिएको साँगुरीगढी गाउँपालिका घर भई धरान ११ मा बस्तै आएका झगेन्द्र राई र गत जेठ १२ गते धरान ५ स्थित सेउती खोला किनारमा शव भेटिएका धरान ११ का सन्दिप लम्जेलको परिवार पनि धर्नामा सहभागी छन् । उनीहरुले प्रहरी अनुसन्धान र अदालतको आदेशमा चित्त बुझाएका छैनन् ।

यी ४ जना मध्ये प्रदिप सुब्बा र सन्दिप लम्जेलको हत्यामा संलग्नहरु पक्राउ परेर अदालतमा पेश भइसकेको छ । जिल्ला अदालतले प्रदिपको हत्याका ३ जना आरोपीमध्ये जन्तरे भनिने रामकुमार राईलाई पुर्पक्षमा पठाएको थियो भने भरत भुजेल र मंगलसिंह लिम्बुलाई धरौटीमा छोडेको थियो । जन्तरे पनि पुर्पक्षबाट थुनामुक्त भइसकेको भन्दै मृतक प्रदिपका बुबाले असन्तुष्टी जनाए । 

यस्तै, सन्दिप लम्जेलको हत्यामा १२ बर्ष १० महिना र १७ बर्षका नाबालकहरु पक्राउ परेका थिए । कानुन वमोजिम जिल्ला अदालतले १२ बर्षका बालकलाई अभिभावकको जिम्मा लगाएको छ भने १७ बर्षका नाबालकलाई पुर्पक्षको लागि भक्तपुरस्थित बाल सुधार गृहमा पठाउने आदेश दिएको छ । मृतक लम्जेलको बुबाले अदालतको यो आदेशप्रति पनि चित्त बुझाएका छैनन् ।

आफ्नै घरको ट्यांकभित्र शव भेटिएको विनोद लिम्बु र खैरे खोलामा शव भेटिएको झगेन्द्रको घटनाबारे भने अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिएका छन् । विनोदको शव भेटिएको घटना शंकास्पद भएकोले अनुसन्धान भइरहेको उनले बताए । झगेन्द्र भने मोटरसाइकलमा आउने क्रममा खैरे खोलाको बाढीले बगाएर मृत्यु भएको हुनसक्ने पनि प्रहरीको अनुमान छ । उनको शव मोटरसाइकल भेटिएको ठाउँभन्दा करिब ४५ मिटर तल खोलामा भेटिएको थियो । 

भिडियो: