विराटनगर: मोरङको बिराटनगर महानगरपालिका १२ स्थित रोडषेश चोकबाट अपहरणमा परेकी बुढिगंगा गाउँपालिकाकी एक बर्षीया बालिकाको सकुशल उद्दार गरिएको छ । 

दिपेन यादबको १ बर्षीया छोरी निकिशा यादवको प्रहरीले सकुशल उद्धार गरेको छ भने अपहरणमा संग्लग्न २ जनालाई पक्राउ गर्न पनि प्रहरी सफल भएको छ । बालिकाको श्रावण २ गते बिहान ९ बजे रोडषेश चोकबाट अपहरण भएको थियो । घटनाको जानकारी पाएलगत्तै १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धान टोली अनुसन्धान तथा बालिकाको खोजीमा जुटेको थियो । १ बर्षीया बालिका अपहरणमा परेको गम्भिर प्रकृतिको घटनालाई तत्काल टेक्निकल बिश्लेषणको आधारमा अनुसन्धान गर्ने क्रममा प्रहरीले अपहरणकर्तालाई पक्राउ गर्न सफल भएको हो । 

प्रहरीका अनुसार अपहरणमा बिराटनगर महानगरपालिका ६ का २७ बर्षीय रबिन्द्र कुमार साहको संग्लग्नता रहेको खूलेपछि उनलाई साउन ३ गते पक्राउ गरिएको थियो । उनलाई पक्राउ गरेर थप अनुसन्धान शुरु गरेको प्रहरीले अपहरित बालिका भारतको दरभंगामा रहेको खुलेको थियो । त्यसपछि, भारतीय प्रहरीको सहयोगमा बालिकालाई नेपाल प्रहरीले सकुशल उद्दार गरेको छ भने अपहरणमा संग्लग्न बिराटनगर ५ की २७ बर्षीया अनु साहलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

पक्राउ परेका दुबै जनाबीच घनिष्ट सम्बन्ध रहेको र केही महिना अघि अनु साहको अपहरित बालिकाको बुबा दिपेन यादव संग समेत चिनजान भएको खुलेको छ । दुबै जनाको चिनजान र भेटघाटको क्रममा अनु साहले दिपेन यादवलाई छोरी हेर्न मन लागेको भनि बारम्बार छोरी लिएर आउन कर गरेकी थिइन् । त्यसपछि साउन २ गते यादवले छोरीलाई लिएर रोडषेस चोकमा आएको र पुर्व योजना अनुसार केही बाहाना बनाएर अनुले दिपेनको छोरीलाई लिएर भाग्न सफल भएको अनुसन्धानको क्रममा खुलेको प्रदेश प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बालिकालाई सोही स्थानमा रहेका रबिन्द्र कुमारको मोटरसाईकलमा हालेर दुहवी, भान्टावारी र राजबिराज हुँदै भारतको कुनौली तर्फ पठाएपछि रबिन्द्र कुमार नेपाल फर्केका थिए । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।