मोरङ:  बिराटनगर महानगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट करिब २ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थसहित १५ जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका व्यक्तिहरुलाई बुधबार सार्वजानिक समेत गरेको छ । युरेनियम जस्तो पदार्थ लिएर बिराटनगरको ठुल्दाई होटलमा केही ब्यक्तिहरु बसेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका ७ का ४१ बर्षीय शिव शंकर पासवान, धनपालथान ४ का ३७ बर्षीय मुकेश कुमार साह, धनपालथान ७ का ४३ बर्षीय प्रदिप पुरी, कटहरी गाउँपालिका २ का ४० बर्षीय दिलिप कुमार शर्मा, बिराटनगर १२ का ४६ बर्षीय फटिक कुमार कार्की, माप्यदुधकोशी गाउँपालिका ७ सोलुखुम्बुका ३५ बर्षीय गोपाल मगर, हलेसी नगरपालिका ९ खोटाङका ३२ बर्षीय किरण राई र धनपालथान ७ का ४४ बर्षीय लक्ष्मण शर्मालाई १ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी, बिराटनगरकै दुधफारममा समेत केही ब्यक्तिहरु रहेको सूचनाका आधारमा प्रहरी टोलीले  ९७८.६ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित थप ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गण्डकी गाउँपालिका ८ गोरखाका ४५ बर्षीय जिवन गुरुङ, मङहा नगरपालिका ६ महोत्तरीका, ४२ बर्षीय अब्दुल गनी खान, बर्दिवास नगरपालिका १२ महोत्तरीका ३० बर्षीय चन्दन कुमार महतो, ग्रामथान गाउँपालिका ३ मोरङका ५५ बर्षीय रबिन्द्र गच्छदार, बागमती गाउँपालिका ५ मकवानपुरका ३६ बर्षीय दिपक कुमार भ्लोन, मनराषिशवा नगरपालिका ३ महोत्तरीका ४९ बर्षीय उमेश प्रसाद यादव र कमलामाई नरगपालिका ५ सिन्धुलीका २८ बर्षीय श्याम घिमिरे पनि पक्राउ परेका छन् । पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।