धरान: बराह सहकारी पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानको टोलीले उनलाई भानुचोकस्थित बसपार्क क्षेत्रबाट आज पक्राउ गरेको हो । नेपाली र संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोलाविरुद्ध मेयर हर्क साम्पाङले प्रहरीमा जाहेरी दिएका थिए । दुवैविरुद्ध सार्वजनिक शान्ति सुरक्षाविरुद्धको जाहेरी परेपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी समेत ल्याएको थियो ।

आइतबार संघर्ष समितिको अगुवाईमा धरान उपमहानगरपालिकामा मेयर साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाविरुद्ध नाराबाजी भएको थियो भने मेयरको कार्यकक्षको शिशा पनि तोडफोड भएको थियो । आन्दोलनको नेतृत्व गरेका नेपाली र बास्तोलाविरुद्ध भोलीपल्ट मेयरले जाहेरी दिएका थिए । 

प्रहरीले यसअघि नै प्रवक्ता बास्तोलालाई बुधबार धरानबाट पक्राउ गरिसकेको थियो । बास्तोलालाई ७ दिनको म्याद थपसमेत भएर अनुसन्धान भइरहेको छ । संयोजक नेपाली भने फरार थिए । पक्राउ परेका नेपालीलाई म्याद थप अनुमतिको लागि जिल्ला पठाइसकेको डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।