सुनसरी: इटहरी उप-महानगरपालिका वडा नं १७ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । 

हिजो अपरान्ह साढे तीन बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको बेला अचानक चट्याङ लागेर २७ बर्षीय केसी ऋषिदेव घाइते भएका थिए । उनलाई उपचारको लागि एपेक्स अस्पताल इटहरी लगिएको थियो । उनको अस्पतालमा उपचार हुन नसकेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैगरि, उदयपुरको ताप्लि गाउँपालिका १ मा खोलामा डुवी १ जनाको मृत्यु भएको छ । भदौ १ गते बेलुका ६ बजे ताप्लि १ मादलेका ३५ बर्षीय नगेन्द्र राई यारी खोलामा जाल हानेर माछा मार्न गएका थिए । उनी भदौ २ गते बिहान दहमा डुबेर मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । मृतकको लाशलाई पोष्टमार्टमको लागि कटारी अस्पताल पठाईएको र अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यस्तै, बिहिबार दिउँसो १ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका २ मा ८ बर्षीया बालक पानीमा डुबेर मृत्यु भएको छ । स्थानीय बल बहादुर दर्जीका ८ बर्षीय छोरा अन्जान दर्जी साथीहरुसंग गोही खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए । उनलाई स्थानियले फेला पारी उपचारको लागि मोरङ अस्पताल पथरी लगेको थियो । अस्पताल पुर्याउना साथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय पथरीले अनुसन्धान गरिरहेको जनाएको छ ।